काठमाडौं। मधेस प्रदेश क्रिकेट संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पर्सामा भइरहेको छनोट सप्तरीमा सारेको छ।
संघले एक सूचना जारी गर्दै निरन्तरको वर्षाले पर्सामा भइरहेको छनोट सप्तरीमा सारिएको जनाएको छ।
तर, केही व्यक्तिको निश्चित स्वार्थका लागि छनोटका लागि तोकिएको मैदानको पिच भत्काएर छनोट सप्तरीमा सारिएको आरोप लागेको छ।
पूर्व राष्ट्रिय क्रिकेटर संजम रेग्मीले पिच भत्काएर छनोट सारिएको आरोप लगाए। उनले पिच भत्काइनु गम्भीर विषय भएकोले अनुसन्धान हुनुपर्ने माग गरे।
उनले भने, ‘यस विषयमा नेपाल क्रिकेट संघ क्यानले अनुसन्धान गर्ने की नगर्ने? पिच खनेपछि त्यो पनि टर्फ विकट मा। कसले पिच खन्यो अनुसन्धान हुनुपर्ने होइन?’
उनले वर्षाका कारण राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पर्सामा भइरहेको छनोट सप्तरीमा नसरेको बताए।
उनले भने, ‘पिच भत्काएर योजनावद्ध रुपमा छनोट खेल सारिएको हो। पर्सामा पानी पर्ने तर सप्तरीमा नपर्ने के ग्यारेन्टी ?’
पिच भत्काएर खेल सार्नु र मैदानको सट्टा क्याटमा खेलाएर खेलाडी छनोट गर्नु गम्भीर विषय भएको रेग्मीले बताए।
उनले भने, ‘कुनै जिल्लाको बढी खेलाडी छनोट हुन्छन भनेर यसरी छनोट सार्नु खेलाडी र खेल क्षेत्रको लागि राम्रो हैन। सरोकारवाल यस विषयमा गम्भीर बन्नुपर्छ।’
नवौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत क्रिकेट भदौ २३ देखि काठमाडौंमा हुँदैछ। प्रतियोगितामा तीन विभागीय टोली, ७ प्रदेश र एनआरएन गरि कुल ११ टोली हुनेछन्।