काठमाडौँ, ९ फागुन – आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ। बिहीबार भएको लिग चरणको दोस्रो खेलमा नेपाल थाईल्याण्डसँग ५७ रनले पराजित भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले दिएको १२५ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६७ रन मात्र जोड्न सकेको हो। नेपालका लागि ईन्दु बर्माले ३२ र सरिता राना मगरले १८ रन जोड्दा अन्य खेलाडीले दोहोरो संख्यामा छुन सकेनन्।
पहिलो इनिङमा ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १२४ रनको सामान्य योगफल तयार गरेको थियो। थाइल्याण्डका लागि चानिदा सिथुरुवाङले ३५, नारुमोल चाईमाईले ३२ रन जोड्दा वाङपाका लिङप्रार्सट २८ रनमा अविजित रहिन्।
नेपालका लागि नेरी थापा र कृष्णा कुवरले २–२ विकेट लिए। त्यस्तै, कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले १–१ विकेट लिए।
यो पराजयसँगै छनोट खेलको विजेता बन्दै विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ।
जीतसँगै थाईल्याण्डले दुई खेलमा ४ अंक जोडेको छ। समान खेलबाट नेपालले १ मा जीत र १ मा हार गरी २ अंक समेटेको छ । पहिलो खेलमा नेपालले मलेसियलाई ७० रनले पराजित गरेको थियो । थाईल्याण्डले चीनलाई ६ विकेटले हराएको थियो ।