थाइल्याण्ड, ९ फागुन – थाइल्याण्डमा हुन लागेको निर्वाचनका लागि झण्डै एक लाख २० हजार मतदाताले देश बाहिरबाट मतदान गर्न पाउने भएका छन्। आगामी मार्च २४ तारिखका दिन हुने आम निर्वाचनमा उनीहरूलाई देश बाहिरबाट मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले एक लाख १९ हजार १८४ जनाले विदेशबाट मतदान गर्नेगरी मतदाता नामावली तयार भएको जानकारी दिएको हो। आयोगका अधिकारीहरूले दिएको जानकारी अनुसार देश बाहिरबाट मतदान गर्नेहरू ६७ देशमा रहेका छन्।
मतदान गर्ने प्रवासीमध्ये सबैभन्दा धेरै अष्ट्रेलियामा रहेका छन् भने दोस्रो धेरै अमेरिकामा रहेका छन्। अष्ट्रेलियामा १६ हजार १८३ जना र अमेरिकामा १५ हजार १० जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।
त्यसैगरी तेस्रो धेरै मतदाता भएको मुलुकमा चीन परेको छ, जहाँ थाइल्याण्डका दश हजार ९९६ जना मतदाता रहेका छन्। निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले दिएको अन्तिम नामावलीअनुसार देशभरी दश हजार ७९२ जना उम्मेदवार हुने भएका छन्।
थाइल्याण्डमा देशभरी गरेर कुल ३५० निर्वाचन क्षेत्र रहेका छन्। हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी निर्वाचन हुने कूल सांसदको सङ्ख्या भने पाँच सय रहेको छ। (एजेन्सी)