रुकुम (पूर्व), ९ फागुन – जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका– ११ का वडाध्यक्ष जयकुमार बुढामगरले सोही वडा निवासी ४१ वर्षीया जयपुरा बुढामगरमाथि कुटपिट गरेका छन्। गाउँकै निर्माणाधीन महिला भवनका लागि बनाइँदै गरेको शौचालयको खाडलको विषयलाई लिएर विवाद हुँदा वडाध्यक्ष बुढाले फागुन ५ गते जयपुरीलाई कुटेका थिए।
वडाध्यक्षले आफूमाथि मोटरसाइकलको हेल्मेट प्रहार गरेको र ढुङ्गा भएको ठाउँमा धकेलीदिएको पीडित जयपुराले बताईन्। कुटपिटले शरीरको विभिन्न ठाउँमा चोटपटक लागेको छ। अहिले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उनी महिला विकास कार्यालयले गठन गरेको तत्कालीन पारालिगल समितिका सदस्य समेत थिईन्।
आफूमाथि कुटपिट भएपछि बुढाले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन्। तर इलाका प्रहरी कार्यालयमा वडाध्यक्षले छलफल गर्न नमानेपछि उनले जिल्ला प्रशासन, प्रहरी तथा महिला सन्जालमा निवेदन दिएकी छन्। घटनाबारे अहिलेसम्म आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए।