जिल्ला समन्वय समितिका प्रमुख गणेश भट्टको निधन भएको छ । उनको आज काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
एक्कासी बेहोस भएपछि ५० वर्षीय भट्टलाई गत मङ्सिर २८ गते उपचारका लागि काठमाडौँ लगिएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । उनलाई उपचारका लागि अन्नपूर्ण अस्पताल भर्ना गरिएको थियो । भट्टलाई मस्तिष्कघात भएको बताइएको छ ।
भट्ट नेपाली कांग्रेसबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए । उनि पाटन क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी सङ्घमा आवद्ध थिए ।
भट्ट नेपाल तरुण दलको केन्द्रीय सचिव, कांग्रेस डडेल्धुराको क्षेत्रीय सभापति र नेपाल बार एसोसिएशन डडेल्धुराको अध्यक्षसमेत रहेका थिए ।
विसं २०६२÷६३ को आन्दोलनका क्रममा उनले तीन महिना जेल जीवन बिताएका थिए । भट्टको मङ्गलबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।