झापाको चारआली जंगलमा सोमबार भरुवा बन्दुक, खुकुरी र बारुद फेला परेको छ ।नेपाली सेनाले मेचीनगर– १३ स्थित चारआली जंगलबाट ती सामग्री फेला पारेको हो ।
नेपाली सेनाको नयाँ श्रीनाथ गणदेखि ५०० मिटर दक्षिणतर्फको जंगलभित्र दुईजना मानिस बसिरहेको देखेपछि नेपाली सेनाको गस्ती टोली त्यहाँ पुग्दा सेनालाई देखेर ती मानिस त्यहाँबाट भागेको जनाएको छ ।
घटनास्थलबाट बारुद लोड गरिएको एउटा भरुवा बन्दुक, बन्दुकमा प्रयोग गरिने दुई थान सिसाका डल्ला, एउटा खुकुरी, बारुद दुई पोका, सलाई र कम्मर पेटी बरामद गरिएको गणका प्रमुख सेनानी अमरजङ्ग थापाले जानकारी दिए ।
जंगलभित्र शिकार खेल्न हातहतियारसहित शिकारी आउने गरेको र भागेका मानिस पनि शिकारी नै हुनसक्ने उनले बताए । बरामद गरिएको बन्दुकसहितको सामग्री वन कर्मचारी र प्रहरीले मुचुल्का उठाएर लगेको नेपाली सेनाले जनाएको छ ।