काठमाडौँ, ७ फागुन – घरेलु मैदानमा साबिक विजेता चेल्सीलाई स्तब्ध पार्दै म्यानचेस्टर युनाइटेड एफए कपको छैठौँ राउण्डमा प्रवेश गरेको छ। चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा सोमबार राति सम्पन्न खेलमा युनाइटेड २-० गोलअन्तरले विजयी भएको हो।
खराब समयबाट गुज्रिरहेको चेल्सीले जीतका लागि निरन्तर संघर्ष गरे पनि रक्षापंक्ति सशक्त नहुँदा पराजय व्यहोरेको हो। खेलको ३१औँ मिनेटमा आन्द्रे हरेराको गोलबाट पाहुना टोलीले शुरुआती अग्रता लिएको थियो। उनले पउल पोग्बाको पासलाई हेडरमार्फत जाली चुमाएका थिए।
खेलमा फर्किन निरन्तर प्रयास रहेको चेल्सीले पहिलो हाफको अन्तिम मिनेटमा काउन्टर अट्याकमा दोस्रो गोल खायो। युनाइटेडका लागि नायक साबित भएका पउल पोग्बाले प्रहार गरेको सशक्त हेडरको गोलकिपर केपा मुखदर्शक बनेपछि चेल्सी पहिलो हाफमै २ गोलले पछाडि परेको थियो।
दाेस्रो हाफमा गोलका लागि दुवै पक्षबाट निरन्तर प्रयास भएपनि गोल हुन नसकेपछि चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। विजयी युनाइटेडले छैठौँ चरणमा वुभल्स्को सामना गर्नेछ।