काठमाडौँ, ७ फागुन – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला एशिया क्वालिफायर छनोटअन्तर्गत थाइल्यान्डमा सम्पन्न पहिलो खेलमा नेपाल विजयी भएको छ।
एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी-२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि परिक्षा मानिएको खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको हो।
पहिलो इनिङमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२६ रन जोडेको थियो। १२७ रनको विजय लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९२ रन मात्र जोड्न सफल भएको हो।
पहिले ब्याटिङ रोजेको नेपालका लागि ओपनर सिता राना मगरले ४२, कप्तान रुबिना क्षेत्रीले अविजित ३३ तथा काजोल श्रेष्ठले १६, र इन्दु बर्माले १३ जोडेका थिए।
नेपालले दोस्रो खेल फागुन ९ गते थाइल्याण्डसँग, १० गते यूएईसँग, फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग खेल्नेछ। राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेता आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगिताका लागि छानिनेछ।