तीन सन्तानकी आमा शान्ति सुनी विगत १० वर्षदेखि अँध्यारो गोठमा हतकडी लगाएर राखिएको अवस्थामा फेला परेकी छन् ।
स्थानीय आरनमा बनाइएको फलामको हतकडीमा बाँधिएका कारण शान्तिका हातमा निलडाम बसेको छ । बैतडीको मेलौली नगरपालिका–९, रोकटा गाउँकी ३२ वर्षीया शान्ति सुनीलाई मानसिक रोगको उपचार गराउन नसक्दा घरपरिवारले आरनमा बनाएको हतकडी र गोडामा जन्जीर लगाएर अँध्यारो गोठमा राख्दै आएका छन् ।
गरिब तथा विपन्न दलित घरपरिवारकी शान्ति सुनीको १६ वर्षअघि बैतडीकै उदयदेवबाट विवाह भएको थियो । शान्तिका तीन छोराछोरी छन् । घरमा खान लगाउन नपुगेपछि शान्तिका श्रीमान् रोजगारीको क्रममा भारतमा रहेको परिवारले बताएका छन् ।
शान्ति सुनीलाई घरका जेष्ठ सदस्य ससुरा नाता पर्ने ७० वर्षका काशी सुनीले खाना गोठमै दिने गरेका छन् । ‘बुहारीको उपचार गर्न खर्च छैन । साँझ–बिहानको छाक टार्न पनि मुश्किल छ,’ ७० वर्षीय सुसुरा काशी सुनीले भने, ‘खेतबारी केही छैन । भएको घर पनि पहिरोको जोखिममा छ । छाक टार्न समस्या भएपछि छोरा भारतमा मजदुर गर्दैछ । गाउँमा कुनै रोजगारी छैन । नातिनातिना कसरी पढाउने ? भन्ने अर्को चिन्ता छ ।’
१० वर्षदेखि अँध्यारो गोठमा बर्बराउँदै आइरहेकी शान्ति सुनीको उपचार गर्न नसक्दा साह्रै पीडा भइरहेको शान्तिका ससुरा काशी सुनीले गुनासो गरे ।
शान्ति सुनीकी दुई छोरी मध्ये जेठी हरिना सुनी कक्षा ७ मा पढ्छिन् भने कान्छी छोरी असिना सुनी कक्षा दुई र १० वर्षका छोरा तस्बिर सुनी कक्षा तीनमा पढ्छन् ।
उनीहरुसँग कापी कलम र विद्यालय जाने पोशाकसमेत नभएको ७० वर्षीय हजुर बुवा काशी सुनीले पीडा सुनाए । ‘दैवले त ठगेकै थियो, त्यसमाथि बाढी पहिरोका कारण ओत लाग्ने घर पनि पहिरोको जोखिममा परेको छ’, ७० वर्षीय काशी सुनीले भने, ‘दुई जना बुढाबुढीको भरमा तीन नाती नातिना र मानसिक रोगी बुहारी छिन् । परदेश गएको छोरा घर फर्किदिए सबैको जिम्मा लगाउन हुन्थ्यो ।’
बुहारीको उपचारका लागि स्थानीय सरकारसँग हारगुहार माग्न वडा कार्यालय धाए पनि जनप्रतिनिधि भेट्न नसकेको उनले बताए ।
शान्तिको उपचारका लागि नगर कार्यपालिकाको बैठकमा कुरा उठाउने मेलौली नगरपालिकाका उप प्रमुख राधा ओझाले बताइन् । उप प्रमुख ओझाले भनिन्, ‘शान्तिको विषयमा अहिलेसम्म थाहा पाउन सकेनौं । के कस्तो अवस्था रहेछ वडा अध्यक्षलाई बुझेर उपचारका लागि आवश्यक पहल चाल्नेछौं ।’