काठमाडौं – नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ ।
आइतबार दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए ।
चितवनको सौराहामा राति अबेर सुरु भएको बन्द सत्रमा पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका थिए ।
रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव गर्ने तयारी भएको छ ।
एमालेको निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार सोमबार बिहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
ओलीले सहमतिका लागि प्रस्ताव गरिएका र अरुले पनि यो अवधिमा उम्मेदवारी दर्ता गरेपछि निर्वाचनको बाँकी प्रक्रिया अघि बढ्ने समेत उनले जानकारी दिएका छन् ।