प्रदेश नं दुईको एक मात्र महानगरपालिका वीरगञ्जले विविध प्रकारको खोप व्यवस्थापन गर्ने उद्देश्यले खोप भण्डारण कक्ष स्थापना गरेको छ ।
बालबालिकालाई लगाइने नियमित खोपका साथै वर्तमान अवस्थामा आवश्यक कोभिड विरुद्धको खोप भण्डारण सहज बनाउन महानगरपालिकाले खोप भण्डारण कक्ष स्थापना गरिएको हो ।स्थापना गरिएको खोप भण्डारण कक्षमा महानगरवासीलाई आवश्यक विविध प्रकारका खोप व्यवस्थापन सहज हुने अपेक्षा गरिएको महानगरका प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।
उक्त खोप भण्डारण कक्षमा आवश्यकताअनुसार खोप चिसो बनाइ राख्ने रेफ्रिजेरेटर, आइस प्याकफ्रिजर, भ्याक्सिनक्यारियर, कोल्ड बक्सलगायत उपकरण व्यवस्थापन गरिएको महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक रितेश जयसवालले जानकारी दिए ।खोप भण्डारण कक्ष सञ्चालनमा आएसँगै महानगरका बालबालिकालाई लगाइने नियमित तथा कोभिडविरुद्धको खोपको अभाव नहुने बताइएको छ । अहिलेसम्म महानगरमा आवश्यक खोप अन्य स्थानमा भण्डारण गर्नुपर्ने बाध्यता थियो । अब खोप सहजरुपमा उपलब्ध हुने महानगरपालिकाले बताएको छ ।