दमौली, ६ फागुन – व्यास नगर ब्याडमिन्टन क्लबले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजकले जितेको छ।
आज भएको सिनियरतर्फको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकाको टिमलाई पराजित गर्दै आयोजकले प्रतियोगिताको उपाधि जितेको हो। आयोजक टिमको तर्फबाट वुद्धिमान प्रधान र सञ्जीव श्रेष्ठले शुक्लागण्डकी टिमका कमल राना र सुरज लाम्जालीलाई २–० को सोझो सेटले पराजित गर्दै उपाधि जितेका हुन्।
उपाधिसँगै प्रथम हुने प्रधान र श्रेष्ठले नगद रु ३५ हजारका साथै ट्रफी तथा द्वितीय हुने राना र लाम्जालीले नगद रु २० हजारका साथै ट्रफी प्राप्त गरेका छन्। प्रतियोगितामा शुक्लागण्डकीकै सोम थापा र देव गुरुङ तथा व्यास नगरपालिकाका धनबहादुर गुरुङ र कुमार गुरुङको समूह सान्त्वना हुन सफल भएको छ। उनीहरुले समेत नगद रु सात–सात हजार प्राप्त गरेका छन्।
जुनियरतर्फको खेलमा व्यासका पूर्णबहादुर श्रेष्ठ र सुदीप न्यौपाने प्रथम भएका छन् भने रिसिङ गाउँपालिकाका पदम खाँण र सागर थापा द्धितीय भएका छन्। उनीहरुले क्रमशः रु १५ हजार र रु १० हजार प्राप्त गरेका छन्। आइतबारदेखि शुरु भएको प्रतियोगितामा २८ समूहको सहभागिता रहेको थियो।(रासस)