प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज प्रदेशसभामा विश्वासको मत लिने छन्। जसपा विभाजन भएको एक महिनाभन्दा बढी भइसकेको अवस्थामा मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने भएका हुन्।
प्रदेशसभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। मुख्यमन्त्री राउतले दल विभाजन भएको महिना दिनपछि बित्दा पनि विश्वासको मत नलिएको भन्दै विरोध हुँदै आएको थियो।
संविधानको धारा १८८ को उपधारा २ अनुसार दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।प्रदेश २ सरकारमा अहिले जसपा, नेपाली कांग्रेस र माओवादी केन्द्र सामेल छ।
नेकपा एकीकृत समाजवादीको सरकारलाई समर्थन छ। त्यस्तै जसपाबाटै अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमाले विपक्षमा रहने जनाएको छ। १ सय ७ सदस्यीय प्रदेशसभामा अहिले १ सय ४ जना प्रदेशसभा सदस्य प्रतिनिधित्व गरिरहेका छन्।
प्रदेशसभामा जसपाका ३९, नेपाली कांग्रेसका १९, लोसपा १६, नेकपा (एस)का १३, नेकपा एमाले तथा माओवादी केन्द्र ८/८ र नेपाल संघीय समाजवादी पार्टीसँग १ प्रदेशसभा सदस्य छन्। प्रदेशसभा बैठक गत जेठ २९ गते यता बस्न सकेको छैन।
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने भएको छ। लोसपा प्रदेश २ संसदीय दलको बैठकले मुख्यमन्त्री राउतको राजीनामा माग्ने निर्णय गरेको हो।