काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बागमती प्रदेश सभाका सदस्य एवं संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीप्रति आपत्ति जनाएका छन्।
बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कमल थापाले उद्धव थापामाथि गरिएको कारबाही पार्टीको विधि, विधान र पद्धतिविपरीत रहेको बताएका हुन्। उनले कारबाहीको निर्णय हतारमा र जबर्जस्ती रूपमा लादिएको भन्दै त्यसप्रति आफू र केही अन्य नेताले लिखित रूपमै फरक मत दर्ता गराएको जानकारी दिए। विगतका अभ्यास, पार्टी विधान तथा देखिएका कमजोरीको समग्र अध्ययन गरेर मात्र आवश्यक निर्णय लिनुपर्ने भन्दै थापाले त्यसअघि निष्पक्ष छानबिन समिति गठन गर्नुपर्ने धारणा राखे। उनका अनुसार बागमती प्रदेश संसदीय दलले सरकार गठनका विषयमा केन्द्रको निर्देशनका लागि अन्तिम समयसम्म प्रतीक्षा गरेको थियो। तर केन्द्रबाट स्पष्ट निर्देशन नआएपछि बहुमत सदस्यको निर्णयका आधारमा संसदीय दलले आवश्यक कदम चालेको उनको दाबी छ। पार्टी यसअघि नै संकटको अवस्थामा रहेको उल्लेख गर्दै थापाले हैकमवादी शैलीमा नेता तथा कार्यकर्तामाथि कारबाही गर्दै जाने हो भने संगठन झनै कमजोर र ध्वस्त हुने चेतावनी दिए। उनले पार्टीभित्र देखिएका विवादलाई कारबाहीमार्फत समाधान गर्नुभन्दा विधि, विधान र पद्धतिअनुसार छलफल तथा छानबिन गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए।