मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण ग्रहण गरेका छन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठित सरकारको नेतृत्व गर्नुभएका थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री थापा नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी कुल ६३ जना सांसदको समर्थन रहेको छ। राप्रपाभित्र सरकारमा सहभागी हुने विषयमा आन्तरिक विवाद कायम रहेकै बिच मुख्यमन्त्रीमा थापाको नियुक्ति र शपथ ग्रहण सम्पन्न भएको हो।
मुख्यमन्त्री थापाको शपथ लगत्तै बागमती प्रदेश सरकारमा ६ जना नयाँ मन्त्रीहरू नियुक्त भई पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले सत्तारुढ गठबन्धनका तर्फबाट ६ जना मन्त्रीहरूलाई शपथ गराएका छन् । नवगठित मन्त्रिपरिषद्मा एमालेबाट २, राप्रपाबाट ३ र नेकपाबाट १ जना मन्त्री सहभागी भएका छन्।
नवनियुक्त मन्त्रीहरूमध्ये एमालेका भरत बहादुर केसीले भौतिक पूर्वाधार विकास मन्त्रालय र नेकपाका सरल सहयात्रीले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यसैगरी राप्रपाका गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। एमालेका ज्ञान बहादुर तामाङलाई भने बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको छ। बाँकी रहेका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री थापाले आफू मातहत नै राखेका छन् ।
