अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन बुधबारदेखी शुरू भएकाे छ । सम्मेलन आईतबार (असाेज १४, १५ र १६) सम्म चल्नेछ।
२०२२ लाई स्थापनाकाल मानेर अखिलले महामारीबिच सम्मेलन गरिरहेकाे हाे। देशको परिवर्तन र आन्दोलनमा मुलधारको आन्दोलनकर्ता बन्ने युवा-विद्यार्थी जमात नै सम्मेलनबाट नेतृत्वको रुपमा स्थापित हुँदै आएको छ।
२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनविरुद्ध आन्दोलनमा साथ दिने राम बहादुर थापा 'बादल' समूहका नेताको योगदानलाई पार्टी अध्यक्ष प्रचण्डले आगामी नेतृत्वको रुपमा मूल्याङ्कन गरेका छन्।
प्रचण्डको मूल्यांकन एकातिर भए पनि पार्टीभित्र सैद्धान्तिक, वैचारिक कार्यदिशा र संगठनात्मक ढंगले अब्बल रुपमा अगाडि आएका जनार्दन शर्मा ‘प्रभाकर’, वर्षमान पुन ‘अनन्त’ को तागत कम छैन।
आफूमाथि लागेको दाग मेटाउँदै पुनः पार्टीमा सक्रिय भएका पूर्वसभामुख कृष्णबहादुर महरा र नारायणकाजी श्रेष्ठलेसमेत अखिलको नेतृत्वमा आफ्नो समूहलाई पुर्याउन लागिपरेका छन्। कोरोना महामारी र परिस्थितिलाई नियाल्दा चुनाव हुने स्थिति नभएमा नेतृत्वको निर्णय प्रचण्डकै जोडबलमा हुनेछ।
सहमतिमा अगाडि बढे पार्टीभित्र राम्रो प्रभाव रहेका प्रभाकर र अनन्तको प्रस्तावलाई प्रचण्डले सिधै अस्वीकार गर्ने अवस्था छैन। तर पनि अन्तिम निर्णय प्रचण्डकै हुनसक्छ। सामूहिक छलफल र बहसबाट युवा संगठनको नेतृत्व छनोट गर्नुपर्ने कुरामा प्रचण्डको छेकबार नरहने विद्यार्थी नेतृत्वको बुझाई छ।
टुटफुटले सबै कम्युनिस्ट पार्टी कमजोर भएको अवस्थामा व्यक्तिगत स्वार्थ भन्दा संगठनको अब्बल नेतृत्व छान्नुपर्ने दायित्व माओवादी शीर्ष नेतामा छ। विचारर क्षमतासँगै संगठनका निम्ति लडाकु शैलीमा भिड्ने नेतृत्व आजको आवश्यकता हो।
यी हुन् अध्यक्षका ७ उम्मेद्वार
राष्ट्रिय सम्मेलन नजिकिएपछि ६ उपाध्यक्ष र एक महासचिवसहित ७ जनाको दाबेदारी अध्यक्षका लागि हुने निश्चित छ। पञ्चा सिंह, सुरेन्द्र बस्नेत, दीपक देवकोटा रवीकिरण यादव, उत्तम अधिकारी, तिलकराज भण्डारी र विजय गौतमलाई नै भावी नेतृत्वको रुपमा हेरिएको छ।
पार्टी लाइन राजनीतिमा धेरै नखुले पनि ६ उपाध्यक्ष र १ महासिचव नै दोस्रो पुस्ताका शक्तिशाली नेताको साथ देखिएका छन्। ७ जना उम्मेदवारमध्ये पञ्चा सिंह एकजना मात्र महिला नेतृ भएकाले उनलाई इतिहास रच्ने अवसर छ।
बादलले पार्टी छोडेपछि उनको समूहबाट नेतृत्व छान्नुपर्ने दबाबसमेत अध्यक्ष प्रचण्डमाथि देखिन्छ। यसले उत्तम अधिकारीले अखिलको नेतृत्व पुग्ने कुरालाई नकार्न सकिन्न। त्यत्तिमात्र होइन पार्टीमा दरिलो प्रभाव बनाएका प्रभाकर र अनन्तको साथ पाएका दीपक र सुरेन्द्रलाई समेत प्रचण्डले अस्वीकार गर्न सक्ने अवस्था छैन।
यस्तै हालका उम्मेदवारहरूमध्येका युवा र उपाध्यक्ष पदमा रहँदा देखाएकाे काैशलताकाे कारण मातृका यादवपुत्र रवीकीरण यादवकाे पनि अध्यक्ष बन्ने सम्भावना छ। कृष्णबहादुर महरा र नारायणकाजी श्रेष्ठको लाइनमा रहेका तिलकराज भण्डारी र विजयी गौतमको सम्भावनाको ढोका खुल्लै छ।
पञ्चा सिंह
समावेशी उपाध्यक्ष पञ्चा सिंह कालिकोटमा जन्मिएर जुम्ला कार्यक्षेत्र बनाउँदै अखिल क्रान्तिकारीमा पहिलो महिला अध्यक्षको इतिहास रच्ने लक्ष्यका साथ मैदानमा छन्।
अहिले देखिएका अध्यक्षका ६ दाबेदारमध्ये उनी एक्ली महिला हुन्। अखिलको १७औँ सम्मेलनबाट लेखनाथ न्यौपाने अध्यक्ष हुँदा केन्द्रीय सदस्य बनेकी सिंह माओवादीसँग नारायणकाजीको एकता हुँदा सचिवालय सदस्य बनेकी हुन्। उनी सचिवालय सदस्य बन्दा सुरेन्द्र बस्नेत केन्द्रीय सदस्य मात्र थिए।
अघिल्लो अर्थात् २१ औँराष्ट्रिय सम्मेलनमा प्रभाकर र अनन्तको टिम बन्दा सिंह प्रभाकरको टिमबाट चुनाव लडेकी हुन्। उनको काँधमा अहिले इतिहास ब्रेक गर्ने ठूलो जिम्मेवारी रहेको चर्चा हुन्छ। उनले यो अवसर नगुमाउने दाबीसमेत गरेकी छन्।
पञ्चाको लागि अहिले परिस्थिति सहजसमेत देखिन्छ। अघिल्लो सम्मेलनमा अनिल शर्माको समूहबाट चुनाव लडेकै आधारमा उनको पक्षमा बोल्ने मानिएका प्रभाकर स्वयम् अर्थमन्त्री छन्।
अघिल्लो पटक अनिल शर्मा पराजित भएकाले पनि प्रभाकरले प्रचण्डमाथि पञ्चाको नाममा जोडबल गर्नेछन्। पञ्चाको परिवार नै राजनीतिमा छ। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमाएमए गरेकी सिंह अध्यक्ष नबने सिधै पार्टीकेन्द्रीय सदस्य हुने सम्भावनालाई नकार्न सकिन्न। ज्ञानको दायरा साघुरो र संगठनमा राम्रोपकड नहुनु उनको कमजोरी मानिन्छ।
सुरेन्द्र बस्नेत
संगठनको प्रवक्ता बनेर काम गरेका झापाका सुरेन्द्र बस्नेत सम्बन्धको हिसाबले सबैभन्दा अगाडि छन्। यसलाई धेरैले उनको लोकप्रियता मान्छन्। विद्यार्थी राजनीतिमा हुँदा नै पार्टी अध्यक्ष प्रचण्डसँग सिधा सम्पर्क भएको युवा नेतामध्ये उनी एक हुन्। एमफिल तहको अध्ययन गरिरहेका बस्नेत मिडियामा लोकप्रिय र परिचित छन्।
उनी जनयुद्धकालीन कार्यकर्ता नभए पनि बेपत्ता परिवारका सदस्य हुन्। युद्धको समयमा उनका एक दाइ एक भाइ बेपत्ता छन्। प्रखर वक्ता बस्नेलाई अगाडि बढाउने अर्थात् बोक्ने नेता देखिँदैनन्। यद्यपि टिमको हिसाबले उनी वर्षमान पुन ‘अनन्त’ निकट मानिन्छन्। तर, अनन्तले सुरेन्द्रलाई अध्यक्ष बउनुपर्छ भनेर प्रचण्डसम्म पुग्ने काम नगर्ने बताइन्छ।
रञ्जित तामाङको उत्तराधिकारीको रुपमा अध्यक्ष पदमा उनको दाबेदारी दर्बिलो देखिन्छ। बजार हल्लासमेत प्रचण्डको रोजाइमा सुरेन्द्र बस्नेत रहेको छ। माओवादीको विद्यार्थी नेतृत्व छनोटका निम्ति प्रभाकर एकातिर हुँदा अनन्त, शक्ति बस्नेतसहित सबै अर्कोतिर रहेजस्तो देखिन्छ। यसले सुरेन्द्रलाई फाइदा गर्ने अनुमान गर्न सकिन्छ।
मिडियाबाजी गर्न जति सक्रिय छन् त्यत्ति नै सक्रियता संगठनमा देखाउन नसकेको आरोप उनीमाथि लाग्ने गर्छ। संगठनमा थोरै पकड हुनु उनको कमजोरीको रुपमा हेरिएको छ। २०६४ मा माओवादी प्रवेश गरेका बस्नेतमाथि एमालेबाट आएको ट्याग अझैसम्म हटेको छैन।
तिलक राज भण्डारी
उपाध्यक्ष तिलक राज भण्डारीको संगठनमा राम्रो पकड छ। उनी कुशल संगठक हुन्। २०५६ पछि युद्धमा सहभागी भएका भण्डारीले २०६० साल साउनदेखि मंसिरसम्म जनसाक्षर अभियानको नेतृत्व गरे।
अखिलको १७औँ सम्मेलनमा केन्द्रीय समितिमा प्रवेश गरेका उनले लामो समय मगरात, गण्डकी, लुम्बिनी क्षेत्रमा काम गरे। भण्डारी खुला उपाध्यक्ष हुन्। उनको ‘जनयुद्ध हस्ताक्षर’ नामक पुस्तक प्रकाशित छ।
अखिलमा कुशल संगठन आफू भएको उनको दाबी छ। अब तल्लो तहमा काम गर्नेलाई नेता बनाउने कि नबनाउने भन्ने बहस आवश्यक भएको उनको ठहर छ। कसले माओवादी र अखिलका लागि काम गरेको छ भनेर नेताहरुले सर्वेक्षण गर्नुपर्ने तर्कसमेत उनको छ। ‘जनतातर्फ फर्किएको पार्टी संगठन, कार्यकर्तातर्फ फर्किएको नेता बनाउने कुराले मात्र माओवादी आन्दोलन र अखिल सुदृढ हुन्छ’, उनी थप्छन्, ‘दास र मालिक बनाउने काम अब हुनु हुँदैन।’
रवीकिरण यादव
माओवादीको मातृका यादवसँग एकता हुँदा उपाध्यक्ष बनेका रविकिरण यादवलाई कम आँक्न सकिन्न। आइटी इन्जिनियर उनी मातृकाका छोरा हुन्। उनले अहिलेसम्म कुनै पदमा दाबी नगरे पनि उनी सम्भावना बोकेका नेता हुन्।
काठमाडाैं विश्वविद्यालयमा भएकाे ठुलाे विद्यार्थी आन्दोलनको मोर्चा सम्हालेर आफ्नो नेतृत्व कौशलको प्रदर्शन गरिसकेको रवी युवा पुस्तामाझ लोकप्रिय छन्। शालिन र बौद्दिक युवा नेताको रुपमा चिनिदैँ आएका उनी कुशल संगठक पनि हुन्।
जनार्दन शर्मा निकट मानिने रवीकीरणलाई अध्यक्ष चयन गर्दा मधेशको भावना समेत समेटिने हुँदा उनको दावेदारी पनि बलियो नै देखिन्छ। पिता मातृकाकै जस्तो स्वभाव बोक्ने रवीको काँधमा अखिलको जिम्मेवारी आएमा उनले सफलतापुर्वक निर्वाह गर्न सक्ने केन्द्रिय नेताहरुको पनि विश्वास देखिन्छ।
उत्तम अधिकारी
उत्तम अधिकारी महासचिव हुन्। उनले संगठनमा भद्र, शालीन र सन्तुलित व्यक्तित्वको परिचय बनाएका छन्। अधिकारी अत्यन्त कूटनीतिक मानिन्छन्।एलएलएम गरेका उनी कानुनका जानकार हुन्।
घर नुवाकोट भए पनि उनले जनयुद्धकालदेखि नै उपत्यकालाई कार्यक्षेत्र बनाए। जनयुद्धको विभिन्न चरणमा चारवर्ष जेल जीवन बिताएका उनको परिवार नै युद्धमा होमिएको हो।
माओवादी विभाजित हुँदा मोहन वैद्य समूहको विद्यार्थी संगठन महासचिवको जिम्मेवारी सम्हालेका अधिकारी एकतापछि बादल समूहको नेताको रुपमा चिनिए। ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेपछि बादल एमाले गुटमा छिरे पनि अधिकारी प्रतिगमनविरुद्धको आन्दोलनमा सक्रिय भए। बादललाई साथ नदिएर उनले माओवादी आन्दोलनको वैचारिक धारलाई दरिलो बनाए।
माओवादीलाई गुटबिहीन बनाएर अगाडि बढाउनुपर्ने उनको अडान छ। यत्तिबेला बादल एमालेमा मिल्न गएकाले बादलको देशव्यापी टिम उत्तमसँग छ। प्रतिगमनविरुद्धको आन्दोलनमा वैचारिक धारलाई अंगिकार गरेकाले प्रचण्डले सहमतिमा अगाडि बढ्ने र महासचिवलाई नेतृत्व दिएर अरुलाई बिदा गर्ने प्रस्ताव अगाडि सार्ने सम्भावनालाई नकार्न सकिन्न।
दीपक देवकोटा
मिडियामा धेरै नछाउने अर्का उपाध्यक्ष दीपक देवकोटासमेत अध्यक्षका उम्मेद्वार हुन्। उनले २०५३ सालमा विद्यालय पढ्दादेखि नै साङ्गठनिक जीवन सुरु गरेका हुन्। देवकोटा रसुवामा ०५४ सालमा एसएलसी पास गरेपछि काठमाडौँआएर अस्कल कलेज भर्ना भए।
अस्कल कलेजमा स्नातकसम्म पढेका देवकोटा त्यहीँबाट विद्यार्थी राजनीतिमा चिनिएका हुन्। २०५९ साउनमा गिरफ्तार परेका देवकोटा तीन वर्ष ११ महिना जेल बसे। करिब चार वर्ष जेल बसेर छुटेपछि पुनः विद्यार्थी राजनीतिमा होमिएका उनी उपत्यकामा क्याम्पस जिल्लाको अध्यक्ष, केन्द्रीय समिति, बागमती प्रदेश इन्चार्ज, दुई पटक उपाध्यक्ष भइसकेका छन्।
खरो स्वभावका देवकोटा अहिले राजनीतिशास्त्रमा पिएचडी गर्दैछन्। माओवादी जनयुद्धकाल देखिकै योद्धा उनी अध्ययनशील नेता मानिन्छन्। दीपकलाई प्रभाकरको टिमको प्रतिनिधि मानिन्छ। उनी भने यसलाई स्वीकार गर्दैनन्।
‘हामीले संगठनमा सबैलाई सम्मान गर्नुपर्छ। कसको समूहको भन्नुभन्दा पनि अबको बहस र एजेन्डा संगठन सुधारको हुनुपर्छ’, उनी भन्छन्, ‘विद्यार्थी आन्दोलनलाई सामाजिक आन्दोलनको रुपमा अगाडि बढाउनुपर्छ।’
पारिवारिक हिसाबले उनी सभामुख अग्नि सापकोटाका ज्वाइँ हुन्। संगठनको नेतृत्वका लागि उनलाई यो एउटा ‘प्लस प्वाइन्ट’ मानिन्छ। संगठनमा उनको पकड कमजोर मानिए पनि योगदान, क्रियाशिलता र बौद्धिकताले उनी नेतृत्वका प्रबल दाबेदार हुन्।
विजय गौतम
मकवानपुरका विजय गौतमले कक्षा ६ पढ्दा २०५३ सालमा नै संगठनको सदस्यता लिएका हुन्। उनी हेटौँडा क्याम्पसको स्ववियु सभापति, केन्द्रीय समिति सदस्य, २०६८ मा हिमाल शर्मा अध्यक्ष बन्दा सचिवालय सदस्य, २० औँभेलाबाट सचिव हुँदै २१ औँ सम्मेलनबाट उपाध्यक्ष निर्वाचित भएका हुन्।
भद्र, शालीन मात्र होइन उनी अध्ययनशील नेता हुन्। उनलाई शिक्षाको विषयको जानकार मात्र नभएर विज्ञको रुपमा चिनिन्छ। लामो समय शिक्षा विभाग सम्हालेको, गिरिराजमणि पोखरेलसँग धेरै समय काम गरेको हुनाले पनि उनी शिक्षा क्षेत्रका बढी नै जानकार हुन्।
गणितमा एमए र राजनीतिशास्त्रमा पिएचडी गरेका गौतमको शिक्षामाथि प्रश्न गर्ने ठाउँ छैन। ‘मेरो ध्यान विद्यार्थीका शैक्षिक मुद्दा उठाउने सन्दर्भमा केन्द्रित छ’, गौतम भन्छन्, ‘विद्यार्थीको पहिलो मुद्दा शिक्षा हुनुपर्छ। त्यसैले पनि शिक्षामा कलम चलाएको छु।’ कोभिडलगायत समस्या बाँकी भएकाले सहमति कायम गर्न सकिन्छ भन्ने छलफल र बहस भइराखेको उनको दाबी छ।
गौतमलाई नारायणकाजी श्रेष्ठको समर्थन रहेको छ। पार्टीभित्र बादल नभएकाले यसपालि नारायणकाजीले विजयका लागि अन्तिम समयसम्म कसरत गर्ने बताइन्छ।
‘एकता केन्द्र मशाल हुँदै आएकाले नारायणकाजीसँग जोडेर हेर्ने गरिन्छ तर संगठनमा जिम्मेवारी पाउँदा यसको प्रभाव हुन्छ जस्तो लाग्दैन।’ गौतमको कमजोरी भनेको संगठनमा कमजोर पकड मानिन्छ।
महासचिव को त ?
उपाध्यक्ष दिपेश पुनको दाबी अध्यक्षमा भए पनि अन्य सिनियर पुस्ताले उनलाई महासचिवको रुपमा चिनाउने गरेका छन्। विद्यार्थीमा २८ वर्षे प्रावधान हटाएर मात्र सिनियर पुस्ताबाट लेयर बनाउनुपर्ने पुनको भनाइ छ ।
क्षितीज सापकोटा पनि महासचिवका बलियो उम्मेदवार हुन्। गण्डकी प्रदेशको विद्यार्थी राजनीतिलाई नयाँ दिशा र उचाँई प्रदान गरेका सापकोटा केन्द्रिय सचिव समेत हुन्। स्पष्ट वक्ताको परिचय बोक्ने सापकोटा रचनात्मक शैलीको आन्दोलनका कारण चर्चित छन्।
विद्यार्थी राजनीतिमा बेग्लै खालको ‘भिजन’ लिएका सापकोटा महासचिव पदमा चयन हुने देखिन्छ। उनी पनि जनार्दन शर्मानिकट हुन्। युवा पुस्तामा अध्ययनशील मानिएका सचिव नरेश रेग्मीलाई समेत महासचिवको दाबेदार मानिन्छ।
महासचिव दाबेदारमा अमरजँग शाहि, नारायण खनाल, सुर्यनारायण साह,पवन कार्की, मिलन एमसीलगायतको नाम चर्चामा छ।