यो देशमा विभिन्न समयमा विभिन्न विषयहरु बहसको सतहमा आउँछन्। विषय सानो होस् या ठूलो, त्यसमाथि घनिभूत छलफल हुन्छ, त्यसमा सबैले आआफ्नो विचार राख्छन्। लोकतन्त्रका मूख्य र महत्वपूर्ण सौन्दर्यमध्ये यो पनि एक हो– विभिन्न विषयका बहसमा सरिक हुनु र निर्बाध रुपमा त्यसमा आफ्नो विचार राख्नु।
बहसमा सामेल हुने नागरिकमा चेतना, विज्ञता, निरन्तरको खबरदारी आदिको अभावमा अधिकांश मुद्धाले निकास पाउँदैनन्, तिनीहरु निष्कर्षमा पुग्न सक्दैनन्। बहसको उत्कर्षमा पुगेर एउटा मुद्धाले निकास पाएकै हुँदैन, त्यो छिनालिएकै हुँदैन, बहसका लागि अर्को मुद्धा आइहाल्छ र नागरिकहरु हतारहतार त्यसपछाडि दैडिहाल्छन्। फेरि पनि समस्याहरु बहसमा आउनु एकदमै आवश्यक छ। र, यही नै लोकतन्त्रको सौन्दर्य हो।
तर, यहाँ समस्याहरुले निकास नपाउनुको एउटा तर सबैभन्दा मुख्य कारणबारे चर्चा गर्न भने छुटाउन हुँदैन। कारण हो– सीधासीधा नभनिनु अर्थात्, सबैले बुझ्ने गरी यसको व्याख्या नगरिनु। अधिकांश समय हामी कुनै पनि कुरालाई सरल र सीधासीधा बुझ्ने चेष्टा गर्दैनौँ। तर, यसमा दोष नागरिकको मात्र छैन। यसमा मूख्य दोषी त ती हुन्, जसको काम नागरिकलाई सरल भाषामा बुझाउने भए पनि बुझाउँदैनन्, बरु सरल कुरालाई थप जटिल बनाएर प्रस्तुत गर्छन्।
आज हामी एउटा त्यस्तै विषयउपर चर्चा गर्नेछौँ, जुन सीधासीधा भनिएको छैन। सीधासीधा नभनिएकै कारण आम जनमानसमा यसबारे प्रष्ट हुन सकेका छैनन्। विषय हो– वैकल्पिक राजनीति।
वैकल्पिक राजनीति के हो, यसको मूलतः के हो भन्नेमा धेरै चर्चा परिचर्चा भए पनि यसको मूल उद्देश्यलाई प्रष्ट पार्ने सहज र सटिक उत्तर सर्वसाधारणहरुले बुझ्न सकेका छैनन्। आफूलाई वैकल्पिक शक्ति भन्नेहरुले पनि यसको उत्तर दिन सकेका छैनन्।
वैकल्पिक शक्तिको मूल उद्देश्य हुन्छ– लोकतन्त्रका उपलब्धीलाई संस्थागत गर्ने। धर्म निरपेक्षता, संघीयता, शासकीय स्वरुप, निर्वाचन लगायतहरु लोकतन्त्रका मेरूदण्ड हुन्। वैकल्पिक शक्तिले यी उपलब्धीहरुलाई आम जन मानसमाझ अझ व्यापक बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्छ।
तर, वैकल्पिक शक्तिहरु सबैभन्दा ज्यादा यही कुरामा चुकेका छन्। उनीहरु चुकेका मात्र छैनन्, बरु उल्टै लोकतन्त्रका उपलब्धीहरुमाथि प्रहार गरिरहेका छन्। यसको ज्वलन्त उदाहरण हुन्, विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र। उनी आफूलाई वैकल्पिक शक्ति भन्दै दक्षिणपन्थले अंगिकार गर्ने सिद्धान्तहरु अपनाइरहेका मात्र छैनन्, नेपाल दक्षिणपन्थको बाटोमा उन्मुख नभएकै कारण विकास हुन नसकेको हो भनिरहेका छन्। उनी हाकाहाकी भनिरहेका छन्– लोकतन्त्र, धर्म निरपेक्षता र संघीयता नेपाली जनताहरुले कहिल्यै चाहेका थिएनन्, यी त आयातित एजेन्डा हुन्।
उनी विचारभन्दा माथि देश भन्दै नागरिकको धार्मिक आस्थामाथि राजनीति गर्न खोजिरहेका छन्।
सस्तो लोकप्रियता र भोटका लागि २४० वर्षीय लामो निरंकुशीय इतिहास बोकेको, हजारौँ नागरिकको त्याग र बलिदानीले प्राप्त भएको लोकतन्त्र र त्यसका उपलब्धीमाथि प्रहार गरिरहेका छन्। संविधानाले नै दिइसकेको धार्मिक स्वतन्त्रता र संघीयताको अधिकारलाई उनी कुन्ठित गर्न अनेक प्रपञ्च रचिरहेका छन्।
लोकतन्त्रका उपलब्धीहरुलाई संस्थागत गर्नुको साटो उल्टै कुन्ठित गर्न सहयोग गर्नेहरु कहिल्यै वैकल्पिक हुन सक्दैनन्। नागरिकहरुले देशलाई दक्षिणपन्थको बाटोमा उन्मूख गराउने नियत भएकाहरुलाई बुझेर उनीहरुलाई बहिष्कार गर्नुपर्छ। नागरिकहरुले वैकल्पिकको अर्थ सीधासीधा बुझ्नुपर्छ, उनीहरुलाई सीधासीधा बुझाइनुपर्छ।
नगरिकहरुले सीधासीधा के पनि बुझ्नुपर्छ भने आफूलाई वैकल्पिक राख्दैमा एउटा नेता वा पार्टी वैकल्पिक भइहाल्दैन। कमसेकम विवेकशील साझा जस्तो दल वैकल्पिक हुन सक्दैन। त्यसो त विवेकशील साझाभित्र संयोजक मिलन पाण्डेको समूह छ, जो साँचो अर्थमा वैकल्पिक हुन खोजिरहेको छ। तर, दलको मूख्य मान्छे नै दक्षिणपन्थी भएपछि बाँकी सदस्याहरु जे–जस्तो भए पनि त्यसको अर्थ हुँदैन। यद्धपि विवेकशील साझालाई वास्तविक अर्थमा वैकल्पिक बनाउन पाण्डेसँग एक मौका भने छ। मिलन पाण्डेहरुले पार्टीभित्र विद्रोह गर्न सक्नुपर्छ र मिश्रलाई पार्टीच्युत गराउन सक्नुपर्छ। तर, यो सम्भावना एकदमै कम छ। यसअर्थमा विवेकशील साझा साँचो अर्थमा वैकल्पिक शक्ति हुनबाट चुकिसकेको छ।
प्रमुख पार्टीहरुले लोकतन्त्रका उपलब्धीहरुलाई संस्थागत गर्न नसकेको अवस्थामा तत्कालिन विवेकशील नेपालीको उदय भएको थियो। सुरुमा अभियानका रुपमा सुरु भएर पछि पार्टी बनेको यो दलबाट नागरिकहरुले एकदमै आशा गरेका थिए। कुनै ठाउँमा प्रत्यक्ष रुपमा नजिते पनि २०७४ को तीनै तहको निर्वाचनमा नागरिकको राम्रो माया पाएको थियो दलले। तर, रवीन्द्र मिश्र नेतृत्वको पार्टी साझासँग एकीकरणपछि भने विवेकशील नेपालीको अस्थित्वमात्र विलिन भएन, वैकल्पिक शक्तिको मर्म नै समाप्त भयो।
अब यो दलले एउटा वैकल्पिक शक्तिले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न सक्दैन। रवीन्द्र मिश्र नेतृत्वको दल नाममा मात्र वैकल्पिक दल हो, व्यवहारमा एकरत्ती पनि वैकल्पिक रहेन।
तर, वैकल्पिक शक्तिको चाहना नागरिकमाझ अझै पनि बाँकी छ। नेपाल र नेपालीपनलाई साँचो अर्थमा बुझेको एउटा वैकल्पिक शक्तिको आवश्यकता छ। नेपाली माटो सहाउँदो राजनीति गर्ने र लोकतन्त्रका उपलब्धीहरुलाई संस्थागत गराउनमा हरसम्भव प्रयास गर्ने वैकल्पिक शक्तिको खाँचो छ नेपालमा। के नेपाली माटो र नेपालीपनलाई बुझ्ने वैकल्पिक शक्तिको उदय होला त? के नागरिकहरुको वैकल्पिक शक्तिको तृष्णा मेट्न सक्ला त कसैले?