काठमाडौँ, ६ फागुन – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल मड्रिड घरेलु मैदानमा पराजित भएको छ।
घरेलु मैदान सान्टियागो बर्नाविउमा भएको खेलको २५औँ मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा रियल जिरोनाविरुद्ध २–१ गोलको झिनो अन्तरले पराजित भएको हो। खेलको २५औँ मिनेटमा टोनी क्रुसको पासलाई गोलमा परिणत गर्दै क्यासिमिरोले रियललाई शुरुआती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १ गोलले पछाडि परेको जिरोनालाई खेलको ६५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै स्टुआनीले खेलमा फर्काए। प्रतिस्पर्धात्मक खेलमा दुवै तर्फबाट निरन्तर गोलका प्रयास भइरहे पनि ७५औँ मिनेटमा पाहुना टाेलीले बाजी मार्यो।
निर्धारित समयको खेल सकिन १५ मिनेट बाँकी हुँदा पाहुना टोलीका लागि पोर्टुले गोल गर्दै २-१ को अग्रता दिलाएका थिए। दबाबमा परेको रियलले गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसकेपछि पराजय व्यहोरेको हो।
आइतबार रातिको पराजयसँगै रियलका कप्तान सर्जियो रामोसले खराब कीर्तिमानमा नाम लेखाएका छन्। जिरोनाविरुद्धको खेलमा ९०औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदा मैदानबाट बाहिरिएका रामोस ला लिगामा सर्वाधिक रातो कार्ड पाउने खेलाडी बनेका छन्।
आफ्नो करियरमा २५ रातो कार्ड पाएका रामोसले ला लिगामा २०औँ रातो कार्ड पाएका हुन्।
https://twitter.com/Squawka/status/1097118628003106816