एजेन्सी, ६ फागुन – चीनको दक्षिणपश्चिमी स्वशासित क्षेत्र तिब्बत क्षेत्रको सन् २०१८ मा वैदेशिक व्यापार स्थिर रहेको सरकारी तथ्याङ्कले देखाएको छ। गत बर्ष तिब्बतको आयात तथा निर्यातको कुल परिमाण ७० करोड १० लाख अमेरिकी डलर रहेको छ।
यसैबीच सीमानाका बासिन्दासँगको व्यापारमा भने अघिल्लो बर्षको तुलनामा सन् २०१८ मा १६९ दशमवल ३ प्रतिशतको वृद्धि भई जम्मा १० करोड युआन बढी कारोबार भएको तथ्याङ्कमा उल्लेख छ। तिब्बतको वैदेशिक ब्यापारको ५२ दशमवल ६ प्रतिशत हिस्सा नेपालसँगको व्यापारबाट भएको छ। यो अघिल्लो बर्षको तुलनामा ४ दशमवल ६ प्रतिशतले वृद्धि हो ।
‘तिब्बतले सीमा व्यापारलाई प्रोत्साहन गर्न बेल्ट एण्ड रोड कार्यक्रममा विशेष सक्रियाता दिएको र यसबाट वैदेशिक व्यापार विकासमा मजबुत गति लिएको छ,’ ल्हासा भन्सारका प्रमुख लिउ डालीले बताए।
तिब्बतको व्यापारलाई स्थिर राख्न दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियासँग स्थानीय अधिकारीहरूले बढाएको आर्थिक समन्वयले पनि विशेष योगदान पुर्याएको छ। गत बर्ष तिब्बतमा छ करोड अमेरिकी डलर वैदेशिक लगानीका विभिन्न २६ नयाँ उद्योगहरू स्थापना गरिएको थियो। (रासस)