काठमाडौं – प्रधानमन्त्री नियुक्तिबारे राष्ट्रपतिको पत्रलाई लिएर विवाद भएको छ ।
प्रधानमन्त्री नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नगरिएको भन्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिन अस्वीकार गरेका हुन् ।
देउवालाई सर्वोच्च अदालतको परमादेशअनुसार नियुक्त गरिएको भनेर राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गरेको थियो ।
सम्बन्धित समाचारः देउवा नेतृत्वको सरकारमा को–को बन्दैछन् मन्त्री ? (सूचीसहित)
तर देउवाले भने आफूले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेको र सर्वोच्च अदालतले त्यसै धारा अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको भन्दै राष्ट्रपतिलाई नियुक्ति सच्याउन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री देउवाको शपथ कार्यक्रम ६ बजे तय भएको थियो । अहिले राष्ट्रपति कार्यालयले नियुक्ति पत्र सच्याएर शपथ गराउने तयारी गरिरहेको छ ।
शपथलाई लिएर विवाद भएपछि प्रधानमन्त्री देउवासहित शिर्ष नेता छलफलमा जुटेका छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले राष्ट्रपतिलाई प्रवृत्ति सच्याउन आदेश दिएको भन्दै उनले सच्चिएर सहकार्य गर्न राष्ट्रपतिलाई प्रस्ताव गरेका छन् ।