शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई जनाले मन्त्रीको शपथ लिने भएका छन् ।
ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणले मन्त्रीको शपथ लिने भएका हुन् । खाँड गृहमन्त्री बन्ने सम्भावना छ भने कार्कीको मन्त्रालय टुंगो लागेको छैन ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) ले पहिलो चरणमा सरकारमा दुई मन्त्री पठाउने भएको छ ।
नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई कांग्रेस सभापति देउवा नेतृत्वको मन्त्रिपरिषद्मा पठाउने निर्णय भएको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । उनीहरुले अर्थ र उर्जा मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको स्रोतले जनाएको छ ।
सरकारमा जनता समाजवादी पार्टीले आज मन्त्रीको नाम नपठाउने भएको छ ।
देउवाले मंगलबार साँझ प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । मंगलबार देउवा नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको छ ।
देउवा मंगलबार प्रधानमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत नपाए पनि उनकै नेतृत्वमा मुलुक चुनावमा जानेछ ।
सर्वोच्च अदालतले सोमबार संसद पुनःस्थापना गर्दै देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।