कांग्रेस सभापति शेबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतको आदेशपछि विपक्षी गठबन्धनको बैठक बस्दैछ । बैठक एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा सोमबार ५ बजे बस्न लागेको हो ।
विपक्षी गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपा र राष्ट्रिय जनमोर्चा छन् । विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएको थियो । संसद् विघटनपछि विपक्षी गठबन्धनका सांसदहरूले पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले सोमबार फैसला सुनाएको छ ।
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै कांग्रेस, माओवादी केन्द्र, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसद र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवनिकट सांसदसहित राष्ट्रिय जनमोर्चाका १ सय ४६ सांसदले सर्वोच्चमा देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षरसहित परमादेशको माग गरेका थिए ।
संविधानको धारा ७६ को उपाधारा ५ अनुसार सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको दाबी राष्ट्रपतिले खारेज गरिदिएपछि उनीहरूले अदालतमा उपस्थित भएर हस्ताक्षर बुझाएका थिए ।