काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा की संयोजक उमा भुजेलले नेपालमा कम्युनिस्ट आन्दोलनलाई थप बलियो बनाउन सबै कम्युनिस्ट पार्टीबीच एकता र सहकार्य आवश्यक रहेको बताएकी छन्।
आइतबार काठमाडौंमा पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भुजेलले देशको स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न कम्युनिस्ट आन्दोलनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताइन्।उनले अहिले कम्युनिस्ट शक्तिहरू रक्षात्मक अवस्थामा पुगेको दाबी गर्दै आन्दोलनलाई बलियो बनाउन सबै कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिइन्।भुजेलले नेपालमा स्वाधीनताको मुद्दालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताइन्। देशको अस्तित्व र राष्ट्रिय हितकै विषय चुनौतीपूर्ण बन्दै गएको दाबी गर्दै उनले त्यसको रक्षा गर्ने जिम्मेवारी कम्युनिस्ट आन्दोलनले लिनुपर्ने धारणा राखिन्।उनका अनुसार कुनै समय करिब ६५ प्रतिशत रहेको कम्युनिस्ट शक्ति अहिले २१ प्रतिशतमा सीमित भएको छ। कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सक्रिय रहेको उनको आरोप छ।गर या मर’को अवस्थामा पुगेको कम्युनिस्ट आन्दोलनलाई जोगाउन सम्पूर्ण कम्युनिस्ट पार्टीबीच एकता र सहकार्य आवश्यक रहेको उनले बताइन्।भुजेलले कम्युनिस्ट शक्तिहरूबीचको विभाजनले आन्दोलन कमजोर बनेको भन्दै राष्ट्रिय स्वाधीनता, जनअधिकार र देशको हितका लागि साझा एजेन्डामा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।