काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउँदै व्यवसायीको आत्मविश्वास अभिवृद्धि गर्नुपर्ने बताएका छन्।
निजी क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोण कायम राखेर मुलुकको आर्थिक विकास अघि बढ्न नसक्ने उनको भनाइ छ। आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै श्रेष्ठले पछिल्लो समय निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर अवस्थामा पुगेको दाबी गरे। राजनीतिक उतारचढाव, प्राकृतिक विपत्तिलगायतका चुनौतीबीच पनि व्यवसायीले आफ्नो क्षेत्रबाट काम गर्दै आए पनि पछिल्ला घटनाक्रमले निजी क्षेत्रसँगै युवामा समेत असुरक्षा र निराशा बढाएको उनले बताए। श्रेष्ठले अहिलेको प्रमुख आवश्यकता निजी क्षेत्रप्रति विश्वासको वातावरण निर्माण गर्नु रहेको बताए। उनका अनुसार सरकार र निजी क्षेत्रबीच विश्वासको सम्बन्ध बलियो नभएसम्म लगानी, उत्पादन र रोजगारी विस्तार गर्न कठिन हुन्छ। सरकारले केही उद्योग आफैं सञ्चालन गर्न खोज्नु गलत नभए पनि एउटै उद्योगलाई केन्द्रमा राखेर मात्र औद्योगीकरणको नीति बनाउन नहुने श्रेष्ठले बताए। हेटौंडा कपडा उद्योग सञ्चालनका विषयमा निजी क्षेत्रले उद्योग बन्द गराउन सक्ने आशंका व्यक्त भएको प्रसंग उल्लेख गर्दै उनले यस्तो मानसिकताले औद्योगिक विकासलाई अघि बढाउन नसकिने टिप्पणी गरे। उनले उद्योग सञ्चालनका विषयमा निजी क्षेत्रलाई प्रतिस्पर्धी वा अवरोधका रूपमा हेर्नुभन्दा सहकार्यको वातावरण बनाउन सरकारलाई सुझाव दिए। नेतृत्व तहबाटै निजी क्षेत्रप्रति शंका गर्ने दृष्टिकोण राखिएमा त्यसले लगानीकर्ताको मनोबल कमजोर बनाउने उनको भनाइ छ।
श्रेष्ठले नेपालमा निजी क्षेत्रलाई विश्वासमा लिएर उत्पादन र औद्योगीकरणको वातावरण तयार गर्नुपर्नेमा जोड दिए। सरकारले उद्योग सञ्चालन गरे पनि निजी क्षेत्रलाई कुन क्षेत्रमा, कसरी र कस्तो सहुलियतसहित अघि बढाउने भन्ने विषयमा स्पष्ट नीति आवश्यक रहेको उनले बताए। नेपालमा खपत हुने कपडाको ठूलो हिस्सा स्वदेशमै उत्पादन गर्ने लक्ष्यसहित नीति निर्माण गर्नुपर्ने उनको धारणा छ। उद्योगलाई मात्रै प्राथमिकता दिएर नहुने भन्दै उनले कच्चा पदार्थ, उत्पादन, बजार, लगानी, पूर्वाधार र रोजगारीलाई समेट्ने समग्र औद्योगिक ‘इकोसिस्टम’ निर्माण गर्नुपर्ने बताए। व्यवसायीहरूले दैनिक रूपमा नाफा–घाटा र विभिन्न जोखिम सामना गर्दै पनि आशावादी भएर आफ्नो व्यवसाय अघि बढाइरहेको श्रेष्ठले उल्लेख गरे। उद्यमीको मनोबल कमजोर बनाउने वा उनीहरूलाई निरुत्साहित गर्ने वातावरण बनेमा त्यसको प्रत्यक्ष असर देशको आर्थिक विकासमा पर्ने उनको भनाइ छ। सरकार र निजी क्षेत्रबीच सहकार्य तथा विश्वासको वातावरण निर्माण गर्दै व्यवसायमैत्री नीति ल्याउन सके मात्रै उद्योग विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधिले गति लिने श्रेष्ठले बताए।