विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उपचारका लागि गरेको सहयोग प्रस्ताव अस्वीकार गरेको छ।
कार्यकारी निर्देशक प्रसाईंले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै भेन्टिलेटरमा उपचारत उज्वल थापाको सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने जनाएका थिए। तर शनिबार नै थापाको परिवारले प्रेस विज्ञप्ति जारी गर्दै, हाल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले प्रसाईँले दिने भनेको सहयोग आवश्यक नपर्ने जनाएकाे छ।
"सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासनरप्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ। हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ", थापाको परिवारका तर्फबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
थापाको सहयोगका लागि हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा रहेको बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको परिवारले जनाएको छ।
कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि थापा हाल मेडिसिटी अस्पतालमा उपचाररत छन्। स्वास्थ्यमा थप जटिलता आएपछि केही दिन अगाडि उनलाई ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट रिफर गरी मेडिसिटीको सघन उपचार कक्षमा भर्ना गरिएको हाे।