नेकपा एमालेभित्रको बिवाद मिलाउन अध्यक्ष केपी शर्मा शर्मा ओली र नेता माधव कुमार नेपालले भरमग्दुर प्रयास गरिरहेका छन्। गत बिहिबार अन्तिम समयमा आएर एक ठाँउमा उभिएका ओली–नेपालले त्यसयता बिवाद समाधानको बिन्दु पहिल्याउन निरन्तर छलफल गरिरहेका छन्।
अघिल्लोपटक सिंहदरबारमा आ–आफ्नो पक्षका नेतासहति छलफल गरेका उनीहरुले आज फेरी ‘वान टु वान’ मा बसेका छन्। एमाले बिवाद समाधानको लागि बनाउने भनिएको कार्यदलका सदस्यहरुको टुङ्गो लगाउने उद्दे्रश्यले आज छलफल शुरु भएको एमालेका नेताहरुले जानकारी दिएका छन्।
बिहिबार कार्यदल बनाएर एमालेको बिवाद समाधान गर्ने निष्कर्ष निकाल्दै छुट्टिएका ओली र माधव शुक्रबार आ–आफ्नो टोलीका नेताहरुसहित छलफलमा जुटेका थिए। शुक्रबार पनि कार्यदलका सदस्यहरुको टुङ्गो नलागेपछी ओली–नेपालमात्र बसेर कार्यदल टुङ्ग्याउन खोजेको माधव पक्षका एक नेताले जानकारी दिए। शुक्रबार कार्यदलको जिम्मा ओली र माधवलाई दिने सहमती भएको थियो।
ओलीले कार्यदलमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई पनि राख्न खोज्दा सहमती नजुटेको श्रोतले बताएको छ। माधव समुहका नेताहरुले बादललाई कार्य दलमा राख्न नहुने बताइरहेको उनले जानकारी दिएका छन्।
बन्न लागेको १० सदस्यीय कार्यदलमा नेपाल पक्षबाट भने कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहने बताइएको छ भने ओली पक्षबाट पनि बिष्णु पौडेल, सुवाश नेम्वाङ र शंकर पोख्रेल रहने निश्चित छ। बाँकी २ सदस्यमध्ये एक बादल रहने ओलीले बताएपछी कुरा मिलेको थिएन्।
गत शुक्रबार सिंहदरबारमा भएको सहमती बमोजिम जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्नका लागि कार्यदल बनाउन लागिएको हो।