काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले गरिमा चौधरी हत्या प्रकरणसँग जोडिएका भिडियो सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै आचार्यले पीडित परिवारको संवेदनशील अवस्थालाई ख्याल नगरी गृह मन्त्रालयमै उनीहरूको भिडियो खिचिनु तथा आरोपितको सोधपुछसम्बन्धी भिडियो सार्वजनिक गरिनु उचित नभएको बताएका हुन्।उनले गरिमा हत्याको घटनाबारे धेरै टिप्पणी नगर्ने बताए पनि यस्ता गतिविधिले समाजको संवेदनशीलतामाथि प्रश्न उठाएको उल्लेख गरे। मृतकका अभिभावकले सरकारप्रति आभार व्यक्त गरेको दृश्य मन्त्रालयमै खिचिनु र आरोपितले मेडिकल परीक्षणका क्रममा बोलेका कुरालाई सार्वजनिक गर्नु गलत अभ्यास भएको उनको भनाइ छ । गरिमा चौधरी जितपुर सिमरा उपमहानगरपालिका–१ बाट साउन ३१ गते हराएकी थिइन्। तीन दिनपछि उनको शव फेला परेको थियो। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।यसैबीच, गरिमा हत्या प्रकरणमा पक्राउ परेका एक आरोपितसँग अस्पतालमा गरिएको सोधपुछको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा हतकडी लगाइएका आरोपितसँग प्रहरी अधिकारीहरूले सोधपुछ गरेको देखिन्छ।उक्त भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले समेत घटनाबारे चासो देखाएका छन्। आचार्यले भने अनुसन्धानका क्रममा रहेका आरोपित वा पीडित परिवारसँग सम्बन्धित संवेदनशील सामग्री सार्वजनिक गर्ने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिएका छन्।