काठमाडौँ, ५ फागुन – अस्ट्रेलियन बिग बासमा लिगको उपाधि मेलबर्न रेनिगेड्सले उचालेको छ। मेलब्रोनस्थित डक्ल्याण्डस् स्टेडियममा सम्पन्न खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सलाई १३ रनले पराजित गर्दै रेनिगेड्सले उपाधि उचालेको हो।
दाेस्रो इनिङमा १ सय ४६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको स्टार्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन मात्र जोड्न सक्यो। ओपनर वेन डन्कले (५७) र मार्कोस स्टोनिसले (३९) ले दिलाएको शुरुआती गति अन्य ब्याट्सम्यानले निरन्तरता दिन नसक्दा १४६ रनको सामान्य लक्ष्य स्टार्सले पूरा गर्न सकेन।
टस हारेर पहिलो इनिङमा ब्याटिङको निम्तो स्विकारेको रेनिगेड्सले २० ओभरमा ५ विकेट गुमाएर १४५ रन बनाएको थियो।
सन्दीपले विकेट लिन नसके पनि स्टार्सका एडम जाम्पा र ज्याक्सन बर्डले २-२ विकेट लिए। रेनिगेड्सका टम कोपर ४३ रनमा अविजित रहँदा ड्यानियल क्रिस्टियनले अविजित ३८ रन जोडे।
नेपालका सन्दीपले किफायती बलिङ गरेपनि विकेट लिन सकेनन्। सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिए। बिग बास लिग सकिएसँगै सन्दीप अब पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न दुबै जानेछन्।