अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बरका अवसरमा अपाङ्गता भएका व्यक्ति तथा त्यस क्षेत्रमा काम गर्ने संस्थालाई सम्मान एवं सहयोग गरिएको छ। मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले बौद्धस्थित एउटै परिवारका अपाङ्गता भएका पाँच जनालाई रु १५ हजार नगद सहयोग प्रदान गरेको छ।
समाजका सभापति उत्तम पुडासैनीसहित पदाधिकारीले बिहीबार बौद्धमा उक्त सहयोग हस्तान्तरण गरेका हुन। यस अघि २० नोभेम्बरमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर समाजले असहाय बालबालिकाको संरक्षणका लागि कार्यरत सुनौलो पाइला परिवार काठमाडौंलाई रु १५ हजार नगद सहयोग प्रदान गरेको थियो।
यसैगरी शान्ति समाजको दाङ शाखाले पनि अपाङ्गता दिवसकै अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रममा अपाङ्गता भएकाको अधिकारका लागि समर्पित रोशन गिरीलाई सम्मान गरेको छ। दिवसकै अवसरमा समाज रुपन्देही शाखाले बुटवल उपमहानगरपालिका–१५ स्थित लुम्बिनी अपाङ्ग दुष्टिविहीन अनाथ आश्रमलाई सेतो छडी, खाद्यान्न/तरकारी सहयोग प्रदान गरेको छ।
समाजका तर्फबाट केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, केन्द्रीय सदस्य लालप्रसाद (कृष्ण) पङ्गेनी, शाखा सभापति धनपति खनाल (डिपी), सहसचिव कपिल ज्ञवाली, कोषाध्यक्ष कृष्ण भट्टराईसहितको टोलीले सहयोग हस्तान्तरण गरेको जनाइएको छ। दिवसकै दिन शान्ति समाज दाङ शाखाले केही असहाय बालबालिकालाई सहयोगस्वरुप खाद्यान्न, शैक्षिक सामग्रीस्वरुप पुस्तक र केही नगद सहयोग प्रदान गरेको छ।
समाजका संस्थापक सभापति कृष्ण पहाडीसँग रहेको ३०० र समाजसँग रहेका १०० गरी ४०० पुस्तक कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयलाई प्रदान गरिएको छ। पहाडीले यसअघि आफूसँग रहेका दर्जनौँ वस्त्र केही सामाजिक संस्थालाई प्रदान गरिसकेको जनाए।
यस वर्षको अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन मङ्सिर २५ गते मध्याह्न १२ बजे समाजले आणविक हतियार निषेध सन्धिलाई शीघ्र अनुमोदन गर्न र आणविक अस्त्ररहित विश्वको आह्वानसहित काठमाडौंस्थित अमेरिका, रुस, चीन, बेलायत, फ्रान्स, भारत, पाकिस्तान, उत्तरकोरिया र इजरायलका राजदूतावास अगाडि एकसाथ प्रदर्शन गर्ने तयारी गरेको सभापति पुडासैनीले जानकारी दिए।