काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ मा मंगलबार बिहान एक गाडीले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएकाे छ। बाजुरा घर भएका २५ वर्षीय नबिन लोहारलाई बाटो काट्दै गर्दा ना. ५ ख ८४७४ नम्बरको बसले ठक्कर दिएको थियो।
घटनापश्चात गम्भिर घाइते भएका लोहारको ओमसमाज अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहारलाई ठक्कर दिई फरार भएका बस चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका–८ का घर भएका ३४ वर्षीय सुनिल श्रेष्ठ रहेका छन्।
श्रेष्ठलाई महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलीले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको समन्वयमा काठमाडौंको पेप्सीकोलाबाट बससहित नियन्त्रणमा लिएको हो। श्रेष्ठविरुद्ध सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।