काठमाडौँ, ३ फागुन – भारतमा जारी हिरो महिला गोल्डकपको फाइनलमा शुक्रबार नेपाल र म्यानमार भिड्दै छन्। भारतको उडिसास्थित कलिङ्गा स्टेडियममा साँझ ६ः१५ बजे हुने खेलमा म्यानमारलाई हराउँदै नेपाली राष्ट्रिय महिला फूटबल टिम ऐतिहासिक उपाधि भित्र्याउन चाहन्छ।
नेपालको उपाधि यात्रामा सदाबहार बाधक बन्दै आएको भारतलाई समूह चरणमै हराएको नेपाली टोली आज ऐतिहासिक उपलब्धि हासिल गर्ने तयारीमा रहेको छ। लिग चरणको पहिलो खेलमा म्यानमारसँग ३–० गोलको फराकिलो अन्तरले हारेको नेपाली टोलीलाई आजको खेलमा त्यसको बदला लिने अवसर समेत रहेको छ।
फिफा बरियतामा ६०औँ स्थानमा रहेको भारतलाई पराजित गरेर सनसनी मच्चाएको नेपाली टोलीका लागि आज उपाधिका लागि ४४औँ स्थानमा रहेको म्यानमारलाई हराउनु पर्ने चुनौती रहेको छ। प्रतियोगिताको अपराजित टोली म्यानमारलाई पराजित गर्दै पहिलो उपाधि भित्र्याउने लक्ष्यकासाथ नेपाली टोली मैदानमा उत्रिँदैछ।
म्यानमारले नेपाल, भारत र ईरानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। सन् २०२० मा जापानमा हुने ओलम्पिकको छनौटका क्रममा भएको खेलमा नेपाल र म्यानमारले बराबरी खैल्दै अंक बाँडेका थिए।