वर्षाका कारण यात्रा बिचमै रोक्नुपर्ने अवस्था आउन सक्छ । मोबाइल, पर्सलगायत सामग्री भिज्ने समस्या झनै बढी हुन्छ । यस्तो समस्या समाधानका लागि नेपाली बजारमा थुप्रै उपयोगी ‘ग्याजेट’ उपलब्ध छन् । ग्याजेटले यात्रालाई थप सरल, सुविधायुक्त तथा रोमाञ्चक बनाउन निकै सहयोग गर्छ । यसको मूल्य धेरै पनि छैन । यसलाई सजिलै जहाँ पनि लैजान सकिन्छ । त्यस्ता ग्याजेटको परिचयात्मक प्रस्तुति ः
वाटरप्रुफ ट्राभल ब्याग
गर्मीमा यात्रा गर्दा वाटरप्रुफ ट्राभल ब्याग अत्यावश्यक मानिन्छ । यसमा राखिएका सामानलाई वर्षाले भिजाउँदैन । यसमा धेरै खल्तीहरु राखिएको हुन्छ । खल्तीमा राखिएका सामान वर्षाबाट सुरक्षित हुन्छ । यो ब्याग बोक्न सजिलो पनि छ । यसको मूल्य १५ सयदेखि २ हजार रुपैयाँ पर्छ ।
वाटरप्रुफ टु ह्विलर कभर
वर्षा याममा सवारी साधन चलाउन गाह्रो हुन्छ । धेरैले रेनकोट प्रयोग गर्छन्, यसले पनि पानी राम्रोसँग थेग्न सक्दैन । जसका कारण चालक भिज्छ । पानीबाट चालकलाई जोगाउने ग्याजेट हो– टु ह्विलर कभर । यसलाई ‘सनरुफ’ कभर पनि भनिन्छ । टु ह्विलर कभर पूर्णतया वाटरप्रुफ हुन्छ । यसको प्रयोग गर्दा चालकको कुनै भाग पानीले भिजाउँदैन । यो कभर अगाडि र पछाडि पारदर्शी हुन्छ । कभरको अगाडि प्यारासुट किसिमको कपडा राखिएको हुन्छ, जसले बाइक तथा स्कुटरलाई पानीबाट बचाउँछ । यसको मूल्य १५ सय रुपैयाँ रहेको छ ।
वाटरप्रुफ स्मार्टफोन केस
पौडी खेल्न वा झरनाको सौन्दर्य नियाल्न जाँदा आवश्यक पर्छ, वाटर प्रुफ स्मार्टफोन केस । केसमा मोबाइल राख्न सकिन्छ । पानीभित्रबाट पनि फोटो खिच्न सकिन्छ । यसले मोबाइललाई पानीबाट जोगाउँछ । फोन कभर विशेष किसिमले डिजाइन गरिएको हुन्छ, जसका कारण पानीको जतिसुकै गहिराइमा जाँदा पनि फोन सुरक्षित हुन्छ, सुन्दर फोटा खिच्न सकिन्छ । विशेषगरी पौडी खेल्ने क्रममा यो निकै उपयोगी हुन्छ । हार्ड तथा नरम प्रकृतिका केस बजारमा उपलब्ध छन्् । यसको मूल्य पाँच सयदेखि हजार रुपैयाँसम्म पर्छ ।
वाटरप्रुफ टर्च अम्ब्रेला
वर्षा याममा छाता अनिवार्य हुन्छ । छाताका अनेक प्रकार छन्, तीमध्ये एक हो– वाटरप्रुफ टर्च अम्ब्रेला । यसले पानीबाट जोगाउनुका साथै राति उज्यालो दिन्छ । जसका कारण राति पनि हिँड्न सहज हुन्छ, अरू छाताबाट यस्तो सुविधा प्राप्त गर्न सकिँदैन । यस्ता छातामा एलइडी लाइट र फल्यासलाइट जडान गरिएको हुन्छ । छातामै ब्याट्री हुने भएकाले राति हिँड्न सजिलो हुन्छ । यसको मूल्य दुई हजारदेखि तीन हजार रुपैयाँसम्म पर्छ ।
वाटरप्रुफ पिभिसी ब्याग
यात्रा तथा भ्रमण गर्न रुचाउने व्यक्तिहरु आफूलाई आवश्यक सामग्री सँगै लैजान चाहन्छन् । तर, आवश्यक सामग्री सँगै लैजान सकेका हुँदैन । यसको समाधान हो– वाटरप्रुफ पिबिसी ब्याग । यस ब्यागमा ससाना सामान बोक्न सकिन्छ । यो हेर्दा पारदर्शी देखिए पनि गुणस्तरका दृष्टिले निकै बलियो हुन्छ । महिलाका लागि यो ब्याग बढी उपयोगी हुन्छ । यसमा चस्मा, फोन, पानीको बोतल, पर्स, किताब वा अन्य ससाना सामान राख्न सकिन्छ । यसको मूल्य १ हजारदेखि १५ सय रुपैयाँसम्म पर्छ ।
वाटरप्रुफ हेड अम्ब्रेला
टोपी तथा छाताहरूभन्दा फरक स्वरूपमा बनाइएको हुन्छ, हेड अम्ब्रेला । यसको डिजाइन बाँदरमुखे टोपी जस्तो हुन्छ । त्यसैले यसलाई वाटर प्रुफ मन्की क्यापसमेत भनिन्छ । यसलाई टाउकामा अड्याएर टाउकादेखि कम्मरको माथिल्लो भागलाई पानीबाट जोगाउन सकिन्छ । यो प्रयोग पानी परिरहेको बेला सजिलै हिँड्न सकिन्छ । यसको मूल्य ७ सयदेखि १ हजार रुपैयाँसम्म पर्छ ।
वाटरप्रुफ स्पिकर
यात्राका क्रममा गीतसंगीत मन पर्याउने व्यक्तिका लागि निकै उपयोगी हुन्छ, वाटरप्रुफ स्पिकर । यसले यात्रालाई झन् रोमाञ्चक र आनन्दायी बनाइदिन्छ । यात्रा गरेको पत्तै हुँदैन । एकपटक चार्ज गरेपछि पाँच–छ घण्टासम्म प्रयोग गर्न सकिन्छ । यो स्पिकर १ हजारदेखि ३ हजारसम्म पाइन्छ ।