काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल अमात्यको २३ औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै अग्रजका सपना साकार पार्ने काम भइरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको उल्लेख गरेका छन् ।
उनले त्यसका लागि पूँजी र प्रविधिको प्रयोग गरेर उत्पादन र निर्यात बढाउने तथा आयात घटाउने बताएका छन् ।

अमात्य नेपालको पहिलो पुस्ताका कम्युनिष्ट नेता हुन् । विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा उनले ललितपुरबाट नेपाल कम्युनिष्ट पार्टीको सांसद भई संसदीय दलको नेतृत्व गरेका थिए ।
तत्कालीन संसद्को राष्ट्रियसभामा पाँच सिट रहेको कम्युनिष्ट पार्टीको संसद्मा सशक्त भूमिकाका लागि अमात्यको स्मरणीय योगदान छ । विसं २०१९ मा भएको नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट उनी पार्टीको महासचिव चुनिएका थिए । रासस