संखुवासभाको सिलिचोङ गाउँपालिका– १ बेसिन्दामा आइतबार बिहान गएको पहिरामा परी बेपत्ता भएका ११ जनाको खोजीमा ६० जना सुरक्षाकर्मी खटिएका छन् । । खाँदबारीबाट नेपाल प्रहरीका १५, सशस्त्र प्रहरी बलका १५ र नेपाली सेनाका ३० गरी ६० जनाको टोली बेपत्ताको खोजीमा खटिएको हो ।
लगातार पानी परिरहेकाले खोजी कार्यमा बाधा पुगेको छ । आज बिहानैदेखि खोजी सुरु गरिएको प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । दिनभरि झरी परेको र हुस्सु लागेका कारण तयारी अवस्थामा राखिएको हेलिकप्टर उद्धारका लागि ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।
विकट र भिरालो जमिन भएकाले बेपत्ताको खोजीमा समस्या छ । अहिले पनि पहिरो खस्नेक्रम नरोकिएको स्थानीयले बताए । प्रहरी, सशस्त्र र सेनाले ७८ घरका ३४९ जनालाई चित्रे गाउँमा सारेका छन् । पहिरामा परेर ६५ वर्षीया गोरीमाया र २२ वर्षीया छोरी प्रकृति, राममान, हस्तकुमारी, छोरी एञ्जिला र नम्रता राई हराइरहेका छन् । एञ्जिला गर्भवती थिइन् । अर्का जुद्धबहादुर माने (राई) र श्रीमती उत्तरकुमारी पनि बेपत्ता छन् । नजमाया, हर्कराज, आइतमाया राई पनि बेपत्ता छन् । पहिराले राममान राई, जुद्धबहादुर माने, जुद्धबहादुर गैरी, नगमाया, सन्दीप, भीमबहादुर, शीवधन गोवासिंह र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ ।