झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि ५ लाख बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरपालिकाले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए ।
‘सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौं,’ उनले भने, ‘सलह समातेर ल्याउनेलाई प्रतिकेजी १०० रुपैयाँ दिने योजना ल्याएका छौं ।’ खरिद गरिएको सलह किरा नगरको कृषि शाखाले प्रतिकेजी ५० रुपैयाँ दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको छ ।