काठमाडौँ, २ फागुन - नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय महासङ्घ(आईएफबीबी) फ्रोफेसनल लिग ‘नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
आयोजक बडिबिल्डिङको आइर्एफबीबी नेपाल च्याप्टरले शुक्रबार र शनिबार आयोजना हुने उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनशिपका लागि विदेशका खेलाडीसमेत आउने क्रम जारी रहेको जनाकारी दिएको छ।
यस्तै ‘गेस्ट पोजर’का रूपमा आउने लागेका बडिबिल्डर रोली विङ्कलर पनि बिहीबार नेपाल आइपुग्ने आयोजक संस्थाका अध्यक्ष सानु गुरुङले जानकारी दिए।
राउन्ड रोबिनको आधारमा हुने उक्त प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीको नाम र तौल समूह शुक्रबार सार्वजनिक गरिने उनको भनाइ छ। गुरुङले अहिलेसम्म १५ देशका खेलाडीले नाम दर्ता गरिसकेको र अरू खेलाडीले पनि नाम दर्ता गर्ने क्रम जारी रहेको सो अवसरमा जानकारी दिए।
प्रो क्वालिफायरमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडिबिल्डिङ’ र ‘वुमन पिजिक’ गरी चार ‘इभेन्ट’मा प्रतिस्पर्धा हुनेछ। चार इभेन्टको विजेताले ‘प्रो कार्ड’ पाउनेछन् र अमेरिकाको लासभेगासमा हुने मिस्टर ओलम्पियामा भाग लिन पाउनेछन्।
च्याम्पियनशिपमा ५० देखि ६० खेलाडीले भाग लिने अध्यक्ष गुरुङले जानकारी दिए। च्याम्पियनशिपका लागि खेल हेर्न १० हजार, ५ हजार र ३ हजार रुपैयाँ दरका टिकट राखिएको छ। (रासस)