एजेन्सी, २ फागुन – साउदी अरबका युवराज मोहम्मद बिन सलमान दुई दिने औपचारिक भ्रमणका लागि भारत आउने भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमण यही फेब्रुअरी १९ देखि शुरु हुने अधिकारीहरुले जानकारी दिएका छन्। युवराज सलमान नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा मन्त्रीहरु, उच्च सरकारी अधिकारीहरु, उच्च स्तरीय व्यवसायीलगायत सहभागी हुने भएका छन्।
आसन्न भ्रमणका क्रममा युवराज सलमानले भारतीय प्रधानमन्त्री मोदीसँग दुईपक्षीय हित र आपसी सम्बन्धका बारेमा छलफल गर्ने तालिका रहेको छ।
त्यसैगरी उनले राष्ट्रपति रामनाथ कोभिन्द र उपराष्ट्रपति एम भेन्कैह नायडुलाई पनि भेट्ने कार्यक्रम रहेको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ।
गत सन् २०१६ को अप्रिलमा भएको प्रधानमन्त्री मोदीको सफल साउदी भ्रमणपछि युवराज सलमानको यो भारत भ्रमण हुन लागेको हो। भ्रमणका क्रममा दुई देशका बीचमा केही सहयोग तथा सहकार्य सम्बन्धी सम्झौताहरु पनि हुने अधिकारीहरुले जानकारी दिएका छन्।
भारत र साउदी अरबका बीचमा पुरानो, ऐतिहासिक र सुमधुर सम्बन्ध रहँदै आएको छ। दुई देशको सरकारीस्तरमा मात्रै नभई नागरिक स्तरमा पनि समबन्ध राम्रो र साझेदारी हुँदै आएको छ।
भारतको भ्रमण अघि उनी पाकिस्तानको पनि दुई दिने भ्रमणमा जाने कार्यक्रम रहेको छ। उनी यही फेब्रुअरी १६ तारिखका दिन पाकिस्तानको राजधानी शहर इस्लामावाद जाने कार्यक्रम तय भएको अधिकारीहरुले जानकारी दिएका छन्।
भ्रमणको सुरक्षा व्यवस्थाका लागि सुरक्षा टोली, स्वास्थ्यकर्मी र संचारकर्मीको टोली पनि सोमबार नै इस्लामावाद पुगिसकेको विभिन्न सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। गत वर्षको अक्टोबरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी अरबको भ्रमण गरेका थिए।