काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी–नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ। बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन्।
उनको अनुसार स्थायी कमिटीका ४५ सदस्य सबैको कोरोना भाइरस–कोभिड –१९को परीक्षण गरेर मात्र बैठक बस्ने छ। अब बस्ने बैठक पार्टी एकतापछिको तेस्रो स्थायी कमिटी बैठक हुने छ।
‘केही सांसद रहेका स्थायी कमिटी सदस्यको कोभिड –१९ परीक्षण गरिएको थियो ‘, उनले भने, ‘तर केहीको बाँकी रहेकाले परीक्षण गरेर मात्र बैठक बस्ने भएको छ।’ आज बस्ने भनिएको बैठकमा सरकारको नीति तथा कार्यक्रम, कोभिड –१९ र भारतद्वारा अतिक्रमित नेपाली भूमिका बारेमा छलफल गर्ने कार्यसूची थियो। रासस