विराटनगर - इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान शनिबार (भोलि) देखि शुरु हुने भएको छ। एक महीनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन्। रोजा बस्न मुसलमानले बिहान ३.४३ बजेबाट बेलुका ६.३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ।
रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ। रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमजान महीना नवौँ महीना हो। रमजान महीनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महीनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ।
दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महीनाको ठूलो विशेषता हो। रमजान व्रत बस्न आज साँझ मुसलमानले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ।
विराटनगर सरौचिया निवासी मोहम्मद अजादका अनुसार रमजान महीना हाम्रो लागि निकै महत्वपूर्ण हो र यो पर्वमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुनेगर्दछ। शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ। कुलतमा लागेका मानिस एक महीना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अजादको भनाइ छ।
त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन्। नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन्। रासस