सम्बन्धित निकायहरुविचमा आपसी समन्वयको कमी हुँदा सेवाग्राहीहरु समस्यामा परेका छन्। लकडाउनको समयमा अत्यावश्यक सवारी सञ्चालनको लागि विभिन्न निकायबाट वितरण गरिएको पासको बिषयमा समन्वय नभएको हो।
विभिन्न ४ निकायबाट बाढीएको पासमा सवारी सञ्चालन गर्न पाउने अवधि स्पष्ट नतोकीदाँ समस्या देखिएको हो। जिल्ला, प्रशासन कार्यालय, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागलगायतबाट ७ दिनको लागि भनेर वितरण गरिएको पास ट्राफिक प्रहरीले एकदिने पास भएको बताउँदै जफत गरेपछि समस्या भएको हो।
‘‘हामीलाई ७ दिने पास भनेर दिएको हो’’, सेवाग्राही नवराज बुढाथोकीले नेपाली पब्लिकसँग गुनासो पोख्दै भने, ‘‘तर, ट्राफिकले एकदिने पास बताएर खोसीदियो।’’ पासको माथिल्लो भागमा १ दिने लेखिएको भएपनि वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागबाटै त्यसलाई काटेर ७ दिने भनि दिइएको उनले बताए।
यता विभागका सहायक सुचना अधिकारी दिपकराज पोख्रेलले भने जिल्ला प्रशासन कार्यालयले नै त्यसरी पठाएको बताएका छन्। ‘‘७ दिनको पास नभएर जिल्ला प्रशासन कार्यालयले नै त्यस्तो पठाएको छ’’, उनले भने, ‘‘उनीहरुले नै एकदिनलाई काटेर ७ दिने लेखेर पठाएका हुन।’’
महानगरीय ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका प्रमुख एसएसपी भिम ढकाल भने त्यो पास ७ दिने नभई एकदिने नै भएको दावी गर्छन्। ‘‘एकदिने पास भनेपछि एकदिनको लागि नै दिनुपर्यो नि’’ उनले भने, ‘‘यसमा बिवाद हुनुपर्ने कुरै केहि छैन्। पासको माथि नै प्रष्ट लेखिएको छ नि।’’ एकदिने पासलाई ७ दिनको लागि भनेर दिनै नहुने बताउदैँ उनले थपे, ‘‘यो आपुर्ती विभाग र जिल्ला प्रशासन कार्यालयको कमजोरी हो।’’