काठमाडौ– सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ। नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ। योमध्ये १५ प्रतिशत भन्सार छुट हुनेछ। भ्याट भने यथावत नै रहनेछ ।
‘इन्डक्सन चुलो प्रयोग गर्न प्रोत्साहन दिन अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वय गरी विद्युत् महसुल र भन्सार महसुल छुट दिने व्यवस्था मिलाउन आग्रह गरिएको’, सहभागी एक मन्त्रीले बताए। कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै सरकारलाई एलपी ग्यासको आपूर्ति सहज बनाउन चुनौती भइरहेको छ।
अर्कोतर्फ विद्युत् खपत घटिरहेको छ। नेपाल विद्युत् प्राधिकरणले विद्युत्को सहज आपूर्ति भएको बताउँदै इन्डक्सन चुल्हो लगायत विद्युतीय सामग्री निस्फिक्री प्रयोग गर्न आग्रह गरिरहेको छ। प्राधिकरणका अनुसार बिहान बेलुका विद्युत्को माग सामान्य अवस्थामा १,२०० मेगावाटसम्म पुगेकोमा अहिले पिकमा पनि ९ सय ४५ मेगावाट माग छ। विद्युत् महसुल र भन्सार महसुलमा छुट दिँदा इन्डक्सन चुल्हो किफायती पर्ने देखिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।