इलाम– इलाम सूर्योदय नगरपालिकाकी–१७ वर्षीया आकृति राईको हत्यारालाई पक्राउ गरिएको छ। आकृतिको हत्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय इलाममा आज पत्रकार सम्मेलन गर्दै हत्यारा सार्वजनिक गरिएको हो।
गत मङ्गलबार कक्षा–११ को जाँच दिन विद्यालय हिँडेकी आकृतिलाई बलात्कार गरेर जङ्गलमा लगी हत्या गरेको रोशनले बयान गरेको इलामका प्रहरी प्रमुख हीराबहादुर पाण्डेले जानकारी दिए। आकृतिको हत्या गरेर माटोमा गाडेको अवस्थामा शव फेला परेको थियो। सूर्योदय नगरपालिका–१३ स्थित पोखरीका पूर्णबहादुर राईकी छोरी आकृति स्थानीय ज्योति मावि कक्षा ११ मा अध्यनरत थिइन्।
युवती मङ्गलबार बिहान घरबाट परीक्षा लेख्न भनी हिँडेको तर विद्यालय नपुगेपछि खोजतलास शुरु गरिएको थियो। बुधबार दिउँसो अम्रिसो बारीमा शव फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाको मुचुल्का उठाएर शव निकालेको थियो। शव परीक्षणका लागि बिपी स्वास्थ्य प्रतिष्ठान धोपा धरान पठाइएको छ।
प्रहरी सामु रोशनले बलात्कार गरेको घटना सार्वजनिक गर्छु भनेपछि आकृतिलाई हत्या गरेको खुलाएका छन्। ढुङ्गाले टाउकोमा प्रहार गरेर हत्या गरेको र आफ्नै गाई बाँध्ने गोठ नजिकै रहेको अम्रिसो बारीमा गरेर खाल्डो खनेर गाडेको रोशनको बयान उदृत गर्दै प्रहरी प्रमुख पाण्डेले बताए। शवलाई प्लाष्टिकको बोरामा राखेर माटोमा गाडिएको अवस्थामा फेला पारिएको थियो।