काठमाडौँ, १ फागुन –भारतमा जारी हिरो महिला गोल्डकप फुटबलमा नेपाली महिला टोलीले इरानविरुद्ध शानदार जीत निकालेको छ।
भारतको भुवनेश्वरस्थित कलिंगा रंगशालामा बुधबार साँझ भएको खेलमा नेपालले इरानलाई ३-० गोलअन्तरले पराजित गरेको हो। फिफा बरियतामा नेपाल १ सय ६ र इरान ६०औँ स्थानमा छन्।
राउण्ड रोविनको अन्तिम खेलमा नेपालले पहिलो हाफमा एक गोलका अग्रता लिएको थियो। नेपालले दोस्रो हाफमा थप दुई गोल गर्दै जीत सुनिश्चित गरेको हो।
उत्कृष्ट लयमा रहेकी सावित्रा भण्डारी एक्लैले नेपालको जीतमा २ गोल गरिन्। अर्को गोल अनिता बस्नेतको नाममा रह्याे। खेलको ४१औँ मिनेटमा गोल गर्दै अनिता बस्नेतले नेपाललाई अग्रता दिलाएकी थिइन्। जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिएको नेपाली टोलीका लागि सावित्रा भण्डारीले ५९औँ र ८९औँ मिनेटमा बललाई जाली चुमाइन्।
जितसँगै नेपाल समूहको दोस्रो स्थानमा उक्लिएको छ। ३ खेल खेलेको नेपालले दुई खेलमा जीत र एक खेलमा हार निकाल्दै ६ अंक जोडेको छ। शीर्ष स्थानमा रहेको म्यानमारको दुई खेलबाट ६ अंक छ। शीर्ष दुईमा पर्ने टिम फाइनलमा प्रवेश गर्नेछन्।
पहिलो खेलमा म्यानमारसँग पराजित भएको नेपाली टोली भारतलाई २-१ ले पराजित गर्दै उच्च मनोबलका साथ मैदान उत्रिएको थियो।
भारत र म्यानमारबीचको खेल पनि बुधबार साँझ ७ः१५ मा शुरु हुँदैछ। भारत पराजित भएमा वा बराबरीमा रोकिएमा नेपाल फाइनलमा प्रवेश गर्नेछ। तर भारतले म्यानमारलाई फराकिलो अन्तरले पराजित गरेमा फाइनल प्रवेश गर्ने टिमको टुंगो गोल संख्याको आधारमा लाग्नेछ।