धनगढी, १ फागुन – डीपीएल -३ अन्तर्गत बुधबार सम्पन्न खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ। राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेको काठमाडौँले महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा काठमाडौँले दिएको १ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको महेन्द्रनगरले पूरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय २७ रन मात्र जोड्न सक्यो।
पराजित महेन्द्रनगरका लागि अमर सिंह रौटेलाले अविजित २८, कप्तान शरद भेषवाकरले २३ तथा आरिफ शेखले १८ रन जोडे। त्यस्तै, आनन्द सुब्रमन्युले १५ तथा रोहितकुमार पौडेलले १० जोडेर पवेलियन फर्के।
बलिङतर्फ काठमाडौँका राशिद खानले ३ तथा अंकित दबासले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे काठमाडौँले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३४ रन बनाएको थियो।
लगातार २ जितसँगै काठमाडौँले २ खेलबाट ४ अंक जोडेको छ। अर्कोतर्फ लगातार २ पराजय व्यहोरेको महेन्द्रनगरलाई प्ले अफ मा पुग्न बाँकी खेल जित्नै पर्ने दबाब बढेको छ।