तनहुँ, १ फागुन – तनहुँको दमौलीमा निर्माण हुने खेलमैदानका लागि व्यास नगरपालिकाले २५ लाख रुपैयाँ थप बजेट विनियोजन गरेको छ।
गत आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरेको नगरपालिकाले मङ्गलबार सम्पन्न चौथो नगरसभाबाट थप २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो। नगरप्रमुख बैकुण्ठ न्यौपानेले व्यवस्थित र सुविधासम्पन्न रङ्गशाला निर्माणका लागि नगरपालिकाको तर्फबाट बजेट विनियोजन गरिएको बताए।
विपी वनवाटिकाको मैदानलाई रङ्गशाला बनाउन नगरपालिका र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच सम्झौता भइसकेको छ।उनका अनुसार रङ्गशालामा प्याराफिट र ड्रेसिङ रुमको निर्माण तत्कालै थालिनेछ। नगरपालिकाले गत वर्ष दश लाख रुपैयाँको लागतमा मैदान सम्याउने काम गरेको थियो।
सहमतिअनुसार एन्फाले खेलमैदानमा तारबारसहित अन्य संरचना बनाउनेछ। एन्फाको गोल प्रोजेक्टअन्तर्गत खेलमैदानको सुधारका लागि पाँच लाख रुपैयाँ सहयोग भएको छ । (रासस)