बागलुङ– बागलुङ र पर्वतको सिमाना मालढुङ्गाबाट बेनी बजार जाने बाटो छेवैमा पर्छ पर्वत बेनीको जुगेधारा खेल मैदान। मैदानभन्दा तल कालीगण्डकी नदी, मैदानको ठिक माथि ढुङ्गा–बेनी–जोमसोम सडक खण्ड छ। सडकमा गाडी गुड्न छोडेका छैनन्, कालीगण्डकीमा धेरै पानी बगेर गए । सडक र कालीगण्डकी दुवैको चेपुवामा परेको यो जुगेधारा खेल मैदानले पनि धेरै आरोह अवरोह पार गरेको छ।
पर्वत बेनीका युवापुस्ताका लागि कुनै पनि खेल खेल्ने मैदान छैन। नत बालबालिकाले खेल अभ्यास गर्ने फराकिलो ठाउँ नै। युवा तथा बालबालिकाको हितलाई मध्यनजर गरेरै कालीगण्डकी तिरमा रहेको सार्वजनिक जग्गालाई उपयोग गरेर खेल मैदान बनाउन थालिएको छ।
२०६३ सालदेखि यो मैदान बनाउने काम शुरु भयो। पर्वत बेनीबजारमा व्यवसाय गर्ने व्यवसायी तथा समाजसेवीको सक्रियतामा बगरबाट मैदानको रुप धारण गरेको यो मैदान कहिले नदी कटान, कहिले खानेपानीको पाइपलाइन त कहिले सडकको ढुङ्गामाटो छेक्ने ढाल बन्दै आएको छ।
बेला बेलामा बाढीको शिकार हुने यो मैदान २०६९ सालमा खानेपानीको शिकार भयो। यही मैदानको बाटो भएर निर्माण भएको पर्वत बेनी लिफ्टिङ खानेपानी आयोजनाले धेरै वर्ष मैदानको विकासमा बाधा पुर्यायो। गत वर्षबाट स्तरोन्नति भइरहेको ढुङ्गा–बेनी सडकको कामले पनि फेरि यही मैदानमा अवरोध गरेको छ।
त्यसबेला जुगेधारा खेलकूद मैदान निर्माण समिति बनाएर काम भएको थियो। पहिलो चरणको कामका लागि तत्कालिन संविधानसभा सदस्य कल्पना चापागाईंले संसद् विकास कोषबाट रु ५० हजार बजेट दिएपछि मैदानको विकास गर्न केही सजिलो भएको थियो। ‘बगरलाई मैदानजस्तो बनाएर जसोतसो काम चलेको थियो’, तत्कालीन निर्माण समितिका अध्यक्ष मोहन केसीले भने, ‘चेपुवामा परेर मैदानमा सधैँ समस्या आइलाग्छ।’
पर्वत बेनीमा व्यवसाय गर्ने, विदेशमा रहेका र समाजसेवीले आर्थिक सहयोग गरेर मैदान बनाएका थिए। ‘हामीलाई खेल्ने ठाउँ खै? भनी बालबालिका सोध्छन, हामीसँग जवाफ नै नहुने’, मैदान निर्माणका अभियन्ता नगेन्द्र थापाले भने, ‘अब त उपयोगमा सहज होला भन्यो, फेरि अर्काे समस्या आइलाग्छ।’ पछिल्लो समय ढुङ्गा–बेनी सडक स्तरोन्नतिको क्रममा यो मैदानमा ढुङ्गामाटो थुपारिएको थियो। लामो समय निर्माण कम्पनी र सम्बन्धित कार्यालयले ध्यान नदिएपछि खेल मैदान निर्माण तथा व्यवस्थापन समितिले आफ्नै खर्चमा यो मैदान पुनः प्रयोग गर्न योग्य बनाएको छ।
सडक डिभिजन, सडक निर्माण गरिरहेको कम्पनी र सरोकारवाला गुहार्दासमेत काम नभएपछि ऋण खोजेर मैदान पुनःनिर्माण गरेको थापाले बताएका छन्। ‘हामीले ताकेता गरेपछि डिभिजन सडकले कम्पनीको धरौटी रोक्छु भनेको छ, निर्माण कम्पनीले काम गर्न रकम दिन्छु भन्छ’, थापाले भने, ‘केही धन, केही ऋण गरेर मैदान बनाएका छौँ।’
पुसको २ गतेबाट थालिएको पुनःनिर्माण माघमा सकियो। रु १५ लाख ५० हजार खर्च भएको छ। पुरानो समितिसँग रहेको एक लाख ७५ हजार, सडकले फालेका ढुङ्गा बिक्री गरेर रु पाँच लाख ६५ हजार र स्थानीय समाजसेवी लिलाधर अधिकारीले दिए २५ हजार रुपैयाँबाहेक पुनःनिर्माणमा लागेको खर्च समितिमा रहेका पदाधिकारीको खल्तीबाट भएको छ।
‘सामाजिक काम ऋणमा गरियो’, थापाले गुनासो गर्दै भने, ‘फिर्ता आउँला नआउँला तर खेल पारखीले मैदान त पाए नि।’ नदीको छेउमा तटबन्ध गर्ने र माटो सम्याउने हो भने यो मैदान २० रोपनी क्षेत्रफलको हुन्छ। तत्कालका लागि ढुंगामाटो पन्छ्याएर समथर बनाएको जमिनमा स्टेडियम, सार्वजनिक शौचालय, भलिबल कोटलगायतका संरचना बनाउने सोच समितिले बनाएको छ। मोटामेटी हिसाबमा मात्रै यो मैदान व्यवस्थित बनाउन रु छ करोड खर्च हुन्छ।
सडक बनाउँदा बिग्रिएका संरचना बनाउनु निर्माण कम्पनीको दायित्व हो। यो सडक स्तरोन्नति गरिरहेको त्रिशक्ति तिलक जेभीले खेलमैदान पुनःनिर्माणको खर्च व्यहोर्ने जनाएको छ। कम्पनी सञ्चालक निराजन भण्डारीले भने, ‘चैतसम्म सडकको प्रोजेक्ट सकिन्छ, सडकसँगै जिम्मेवारीमा रहेका संरचनाको काम गर्छौं।’ निर्माण कम्पनीले भनेकोजस्तै चैतसम्ममा मैदानको समस्या सम्बोधन गरे मात्रै खेलमैदान निर्माण समिति ऋणमुक्त हुनेछ।
सबैको चेपुवामा परेर कयौँ पटक पुनःनिर्माण गर्नुपर्ने अवस्था भोगेको जुगेधारा खेलमैदानको विकासका लागि स्थानिय पालिकाले पनि चासो देखाउन थालेको छ। जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले खेलमैदानको विकासमा गाउँपालिकाले सम्बोधन गर्ने बताएका छन्। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पनि गृह जिल्लाको खेलमैदान भएकाले चासो देखाएको सरोकारवाला बताउँछन्।
रासस