काठमाडौं– यस वर्षको प्रि–मनसुन शुरु भएको छ। मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगाातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने मौसमविद् समिर श्रेष्ठले बताए। “जाडो महिना सकिए लगतै स्थानीय वायुको प्रभाव पर्न थालेकाले पनि प्रि–मनसुन शुरु भएको हो”, उनले भने। तापक्रम बढ्न थालेकाले पनि यसको प्रभाव देखिएको हो।
प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भू–भागमा हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने जनाएको छ। मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझापख प्रभावित भैरहनेछ ।
पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने महाशाखाले जानकारी दिएकाे छ।