काठमाडौं– विदेशीहरू तथा आधुनिकताको सिको गर्दै अहिले नेपालमा समेत च्यातिएका, कोतरिएका, टालेका लुगा लगाउने चलन दिनानुदिन बढ्दै गएकाे छ। यस्ता कपडा उत्पादन गर्ने क्रममै च्यातेर, कोतरेर बनाउने गरिएको छ।
यस्ता कपडाको माग बढेसँगै उद्योगी र व्यापारीले पनि यस्तो कपडाको उत्पादन र आयात बढाइरहेका छन्। धार्मिक विद्वानहरूले आधुनिकताको नाममा च्यातिएका लुगा लगाउनु अशुभ मानिने बताउँछन्। हिन्दू धार्मिक परम्पराअनुसार यस्ता पहिरन लगाउनेलाई विभिन्न बाधा व्यवधान आउने र गरेको कामहरूमा प्रगतिसमेत नहुने उनीहरूको भनाइ रहेको छ।
च्यातिएको वस्त्र लगाउनु अशुभ हुने तथा लक्ष्यमा कहिले पनि नपुग्ने धार्मिक विद्वानहरु बताउँछन्। यस्ता कपडा लगाउँदा जीवनको लक्ष्य र उद्देश्य प्राप्तिमा बाधा बन्ने उनीहरुको विश्लेषण रहेको छ। मुसाले काटेका कपडासमेत लगाउन नहुने शास्त्रीय मान्यता रहेको बताउँदै च्यातिएका कपडा लगाउने मानिसहरूको भविष्य समेत कमजोर हुने उनीहरू बताउँछन्।
साथै छोटो र शरीरका अंग देखिने गरी च्यातिएका कपडा लगाउँदा विपरीत लिंगीहरूको आकर्षण बढ्ने हुँदा यसकारणले समग्र जीवनमा नकारात्मक प्रभावसमेत पार्ने हुँदा च्यातिएका लुगाहरू लगाउन नहुने उनीहरु बताउँछन्। टुटेफुटेका भाँडाहरू घरमा राखेमा अशुभ हुन्छ भन्ने धार्मिक मान्यता छ, च्यातिएका कपडा लगाउँदा पनि त्यस्तै अशुभ हुने ज्योतिषहरु बताउँछन्।
च्यातिएका कपडा लगाउने व्यक्तिलाई ऐश्वर्य र वैभव प्राप्त नहुने हुँदा जति कमाए पनि सधै नोक्सान हुने हुन्छ। कपडा भनेको सम्मान र इज्जतको प्रतीक हुने हुँदा आगो लागेका, प्वाल परेका र च्यातिएका कपडालाई पूजापाठमा समेत प्रयोग गर्न नमिल्ने संस्कृतका विद्वान्हरुको भनाइ रहेको छ।