तेह्रथुम– प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औं जन्मोत्सव मनाउन आफ्नाे तेह्रथुम गएका छन्। ओलीकाे जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकामा आज (आइतबार) सार्वजनिक बिदा दिइएको छ।
गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका आउँने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको जनाएको छ। प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन जारी गरेको छ भने विद्यार्थीलाई पनि स्वागतमा खटाइएको छ।
ओलीले जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई आफ्नो तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम छ। ओलीले आजै जन्मदिनको अवसर पारेर छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ।