भक्तपुर– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासको मूल आधार नै धर्म र संस्कृति रहेको बताए। केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको ११ औं वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले सबै मिलेर धर्म र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री पौडेलले धर्मसंस्कृति नेपालको पहिचान र अस्तित्वसँग जोडिएकाले यसको संरक्षणको विकल्प नरहेको बताउँदै नेपालका धार्मिकस्थललाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने औंल्याँए। भारतीय भक्तजन तथा पर्यटकलाई आकर्षण गर्ने गरी मन्दिर विकास र विस्तार गर्नुपर्ने बताउँदै उनले मन्दिरको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्रीले आजै डोलेश्वर महादेव मन्दिरको दर्शन एवं पूजा गरेको सूर्य्विनायक नगरपालिका–८ का वडाध्यक्ष एवं समितिका पूर्ववरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिए। उनले मन्दिरको गुरुयोजनानुरुप निर्माण भइरहेको बताउँदै एक वर्षभित्र मूल मन्दिर, प्रवेशद्वारलगायत संरचना निर्माण पूरा हुने जानकारी दिए।